अवैध संरचना हटाउँदै समन्वय समिति

सुर्खेत: सरकारी जग्गामा बनाइएका संरचना हटाउने सुर्खेत उपत्यका नगर विकास समितिको अभियानलाई जिल्ला समन्वय समितिले पनि साथ दिएको छ । समन्वय समितिको भोगचलनमा रहेको जग्गामा बनाइएका अवैध संरचना पनि अब हटाइने भएको छ । समितिले सार्वजनिक सूचना जारी गरेर ३५ दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ ।

सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको वीरेन्द्रनगर–६ गोदामलाइनस्थित जमिन यसअघि तत्कालिन जिल्ला विकास समितिलाई भोगचलनका लागि दिइएको थियो । तर अहिले जिल्ला समन्वय समितिले भाडामा लगाएको छ । एउटा प्रयोजनका लागि दिइएको जमिन अर्कै प्रयोजनमा उपयोग गरेको पाइएपछि नगर विकास समितिले उक्त जग्गा फिर्ता गर्न समन्वय समितिलाई पत्र पठाएको थियो । उक्त पत्रपछि समन्वय समितिले विगतको सम्झौता रद्ध गरेर संरचनाहरू हटाउन सूचना जारी गरेको हो ।

‘गोदामका लागि भनेर दिएको जग्गा निजी प्रयोजनमा प्रयोग भइरहेकाले सम्झौता रद्ध गरेर खाली गर्न सूचना जारी गरेका छौं,’ जिल्ला समन्वयले जारी गरेको पत्रमा भनिएको छ, ‘वीरेन्द्रनगर–६ स्थित गोदाम लाइन र हटियालाइनमा रहेको चार कोठे स्टल भवन र भवनले चर्चेको सरकारी जग्गा आगामी वैशाख ७ गतेभित्र आफूले बनाएका संरचनाहरू हटाइखाली गरिदिन ३५ दिने सूचना जारी गरेका छौँ ।’

समितिले जारी गरेको सूचनामा तोकिएको अवधिभित्र आफूले बनाएका संरचना खाली नगरे प्रचलित नियमानुसार खाली गरिने र खाली गराउँदा हानीनोक्सानी तथा अन्य परिस्थितिको जिम्मेवार स्वयम् व्यक्ति–फर्म–व्यवसायीहरू नै हुने उल्लेख छ । सुर्खेत उपत्यकाले समन्वयलाई भोगचलनका लागि गोदामलाइनमा ५१०, ६११, १४४ बर्गमिटर र हटियालाइनमा ५५२.५० वर्गफिट सरकारी जग्गा उपलव्ध गराएको थियो । उक्त जमिन व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेका छन् ।

नगर विकास समितिले केही दिनअघि मात्रै घण्टाघर, गोदामलाइन, हङकङबजार र हटियालाइनमा नीजि व्यक्तिहरूलाइ भाडामा दिएको जग्गा खाली गराइसकेको छ । ति क्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाले सवारी पार्किङ बनाउने तयारी गरिरहेको छ । अन्य क्षेत्रमा पनि यस्ता जमिन खाली गराउने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मितिः   ४ चैत्र २०८०, आईतवार १५:३४