आगलागीका घटनामा वृद्धि

सुर्खेत: बराहताल गाउँपालिका–२ का ५५ वर्षीया ऐनबहादुर रानाको आगलागीमा परेर मृत्यु भयो । बिहीवार दिउँसो ३ बजे जंगलमा घास काट्दै गर्दा जलेर उनको मृत्यु भएको हो । आगलागीमा परी गम्भीर घाइते रानाको प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै शुक्रवार कालीकोटको खाँडाचक्र नगरपालिका–५ को नवदुर्गा सामुदायिक वनमा आगलागी भयो । आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरी जलेर घाइते भएका छन् । नवदुर्गा सामुदायिक वनमा शुक्रवार दिउँसो आगलागी भएका कारण वनमा बाख्रा चराउँदै गरेका खाडाचक्र नगरपालिका वडा नं. ५ का नन्दलाल चौलागाईं, उनकी ११ वर्षीया छोरी हरिशोभा चौलागाईं जलेर गम्भीर घाइते भएका हुन् ।

खाडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले आगलागीमा बाबुछोरी घाइते भएको र आगोका कारणले जलेर ५० बाख्रा मरेको जानकारी दिए । आगोमा परेर घाइते भएका बाबु छोरीलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । नगरपालिकाको शनिवार बसेको आकस्मिक बैठकको निर्णयले घाइतेको उपचारका लागि तीन लाख ८० हजार उपचार खर्च दिने निर्णयसमेत गरेको छ ।

पछिल्लो समय आगलागीका घटनामा वृद्धि भएको छ । गर्मी बढेसँगै आगलागीका घटनामा वृद्धि भएको हो । दिनहुँजसो आगलागीका घटना बढेको प्रहरीले जनाएको छ । हिमाली जिल्लाहरूमा त केही समयअघिदेखि नै आगलागी हुन थालिसकेको थियो । मुगुमा माघ २१ गते राति आगलागी हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भयो । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोला गाउँको एक घरमा राति आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १४ वर्षीय विशाल सञ्ज्याल र १२ वर्षीया झरना सञ्ज्याल रहेका छन् । राति बालबालिका र आमा सरस्वती घरको गोठमा सुतेका थिए । बालेर राखेको आगो गोठमा सल्किएको थियो । आमा सरस्वती भने बाहिर निस्कन सफल भइन् ।

हावाहुरीको मौसम सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा आगलागीका घटनामा वृद्धि भएका छन् । अहिले फुसका घर, गोठ, वन जंगलतिर बढी आगलागीका घटना भएको प्रहरीको भनाइ छ । सावधानी नअपनाइँदा आगलागीका घटनाहरू बढ्दै गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको हालसम्म एक सय तीन आगलागीका घटना भइसकेका छन् । आगलागीमा परी आठ जनाको मृत्यु र दश जना घाइते भएका छन् । सबैभन्दा बढी सुर्खेतमा आगलागीका घटना भएका छन् । सुर्खेतमा १७ आगलागीका घटना भएका छन् । यसैगरी जुम्लामा १६, जाजरकोटमा १३, कालीकोटमा ११, सल्यानमा १४, दैलेखमा १२, रूकुमपश्चिममा दुई, मुगुमा ६, डोल्पामा सात र हुम्लामा पाँच वटा आगलागीका घटना भएका छन् । पछिल्लो समय आगलागीबाट मानवीय क्षति हुनेगरेको छ ।

आगलागीका घटना भइरहनुमा मुख्यगरी अव्यवस्थित बसोबास र मानवीय असावधानी नै रहेको डिभिजन वन कार्यालय सुर्खेतका निमित्त वन अधिकृत बसन्तबाबु श्रेष्ठ बताउँछन् । उनले प्राकृतिक हिसाबले पनि पछिल्ला वर्षमा आगलागीको बढी नै जोखिम रहेको जानकारी दिएका छन् । ‘जलवायु परिवर्तनको असरले डढेलोजस्ता जोखिमहरू बढिरहेका छन्,’ श्रेष्ठले भने, ‘यसको न्यूनीकरणका लागि सोहीअनुसारका सरकारी नीति र जनचेतनामुलक कार्यक्रम आवश्यक पर्छ ।’ वन क्षेत्रमा गाईबाख्रा चराउँदा घास काट्दासमेत मानवीय क्षति हुनेगरेको उनले बताए । पछिल्लो समय हिमाली क्षेत्रहरूमा समेत आगलागीबाट ठूलो क्षति हुनगरेको छ । हिमाली जिल्लाहरूमा लहरै जोडिएर बनेका घरका कारण पनि आगलागीबाट धेरै क्षति हुने गरेको छ । त्यस्ता बस्तीमा आगो तीव्र रूपमा फैलने गर्छ । हिमाली तथा पहाडी क्षेत्रमा आगलागी हुँदा निकै ठूलो क्षति भएपछि मात्रै नियन्त्रणमा आउने गरेको छ । दमकल र पानीको अभावका कारण आगो नियन्त्रणमा लिन समस्या हुने गरेको हो ।

प्रकाशित मितिः   ४ चैत्र २०८०, आईतवार १५:३३