एसईईको तयारी

कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन शैक्षिक सत्रको तथ्यांकअनुसार प्रदेशमा प्रत्येक वर्ष एसईईका परीक्षार्थीको संख्यामा कमी आएको छ । यो वर्ष प्रदेशभरबाट ३५ हजार आठ सय आठ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । यो गत वर्षको भन्दा तीन हजार एक सय ६२ ले कम हो । २०७९ मा ३८ हजार नौ सय ७० जनाले परीक्षा दिएका थिए । शिक्षा विकास निर्देशनालयले दिएको जानकारीअनुसार प्रदेशको कूल विद्यार्थी संख्या मात्रै नभएर जिल्लागतरूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी संख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् ।

२०७८ सालमा सुर्खेतबाट नौ हजार एक सय ६९ जना परीक्षार्थी थिए भने त्यसको दोस्रो वर्ष अर्थात् २०७९ मा उक्त संख्या घटेर नौ हजार एक सय ३९ पुगेको थियो । यसवर्ष भने अघिल्लो वर्षको तुलनामा सात सय ९१ जनाले कमी आएको छ । २०८० मा जिल्लाबाट आठ हजार तीन सय ४८ जना परीक्षार्थी एसईईमा सहभागी हुने निर्देशनालयले जानकारी दिएको छ । यसैगरी रूकुमपश्चिममा गत वर्षको तुलनामा ६ सय २३ जना घटेका छन् । यो वर्ष रूकुमबाट तीन हजार पाँच सय ९३ जना विद्यार्थी छन्, अघिल्लो वर्ष चार हजार दुई सय १६ जना थिए । २०७८ मा एसईई दिनेको संख्या चार हजार दुई सय ३० थियो । मुगुमा यो वर्ष पाँच सय ५३ जना घट्दा दैलेखमा चार सय ७८, सल्यानमा चार सय एक, जुम्लामा तीन सय २०, हुम्लामा ३९ र कालीकोटमा ३० जना घटेका छन् । गत वर्षको तुलनामा जाजरकोटमा ३८ र डोल्पामा ३५ जना परीक्षार्थी बढेका छन् ।

आउँदो चैत १५ गतेदेखि देशैभर एकसाथ एसईई सुरु हुँदैछ । त्यसका लागि कर्णाली प्रदेशमा तयारी लगभग पूरा भएको छ । प्रदेशस्तरबाट गर्नुपर्ने सबै तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । जिल्लाहरूमा उत्तरपुस्तिका पुगिसकेको छ । परीक्षाका लागि आवश्यक अन्य सामग्रीहरू पनि पठाउने काम भइरहेको छ । निर्देशनालयले जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरूलाई परीक्षा सञ्चालनसम्बन्धी दुई दिने अभिमूखिकरण समेत दिइसकेको छ । परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्र तोकिएका छन् । जसमध्ये सबैभन्दा कम डोल्पामा चार वटा मात्रै छन् । सबैभन्दा बढी सुर्खेतमा ३३ वटा परीक्षा केन्द्र तोकिएको छ ।

प्रकाशित मितिः   १ चैत्र २०८०, बिहीबार ०५:०३