सार्वजनिक जग्गा खाली गर्दै नगरपालिका

बल प्रयोग गरेरै भत्काइँदै संरचना

सुर्खेत: सार्वजनिक जग्गामा बनाइएका निजी संरचना हटाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ स्थित हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा बनाइएका संरचना हटाउन लागिएको हो ।

सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त क्षेत्रमा विभिन्न व्यवसायीहरूले संरचना निर्माण गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् । नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गरेर ठाउँ खाली गर्न अनुरोध गरेको थियो । तर व्यवसायीहरूले अटेर गरेपछि बुधवारदेखि बल प्रयोग गरेर संरचना भत्काउन थालिएको हो । प्रहरीको सुरक्षासहित डोजर प्रयोग गरेर संरचना हटाउने काम भइरहेको छ ।

माघ १७ गते सार्वजनिक सूचना निकालेर उक्त स्थान ३५ दिनभित्र छाड्न नगरले समयसिमा दिएको थियो । त्यो समय फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलवारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए । बुधवार बाध्य भएर डोजरसहित टोली परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

बुधवार हङकङ बजार, हटियालाइन, गोदामलाइन र घण्टाघर क्षेत्रमा नगरपालिकाले टोली परिचालन गरेर संरचना हटाएको छ । सार्वजनिक सूचनाको अवज्ञा गरेकाले डोजरसहित कर्मचारी परिचालन गर्नुपरेको नगरपालिकाले जनाएको छ । संरचना भत्काउन पर्याप्त समय दिँदासमेत नभत्काएपछि नगर विकास समिति एक्सनमा जान बाध्य बनेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । बुधवार नगरपालिकाले चेतावनी स्वरूप डोजर निकाल्नु परेको उनको भनाइ छ । ‘कानुनी प्रक्रिया अनुसार हामीले संरचना हटाउन भनेका थियौँ,’ ढकालले भनिन्, ‘व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएपछि नगरपालिकाले कदम चाल्न परेको हो ।’ सुर्खेत उपत्यका नगर विकास समितिको जग्गा व्यापारीहरूले वर्षाैंदेखि भोग चलन गर्दै आएका थिए ।

 

सामान सार्दै व्यवसायी

सार्वजनिक स्थान खाली गराउन वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाउन खोजेपछि व्यवसायीहरूले आफ्नो सामान सार्न थालेका छन् । नगरपालिकाले विकल्प नदिएर आफूहरूलाई बिचल्लीमा पारेको व्यापारीहरूको आरोपसमेत छ । सुरुमा अन्य स्थानको टुँगो लगाउने बताएपनि अहिले डोजर चलाएर आफूहरूलाई हटाउन लागेको उनीहरूले बताएका छन् । हङकङ बजारमा व्यवसायी गर्दै आएकी मनकुमारी सुनारले नगरपालिकाको निर्णयले आफूहरूको बिचल्ली भएको बताइन् । नगरपालिकाले डोजर चलाउन खोजेपछि सामान सार्न थालेको उनले जनाइन् । सुनारले भनिन्, ‘नगरपालिकाले अन्य स्थान खोजिदिएन, अब कहाँ जाने ? व्यवसाय धरापमा पर्‍यो ।’

अर्का व्यापारी ललितकुमार श्रेष्ठले हङकङ बजारमा व्यापार गर्न थालेको दश वर्ष भयो । रामेछाप जिल्लाबाट उनी व्यापार गर्न सुर्खेत आएका हुन् । उनले पनि सामान सार्दै छन् । श्रेष्ठ भन्छन्, ‘नगरपालिकाले हटाएर मात्र हुँदैन, हामी कहाँ गएर व्यापार गर्ने ? हामीलाई अन्य विकल्प खोजीनुपर्छ ।’ नगरपालिकाले हटाएपछि आफूहरू मारमा परेको उनले बताए । अन्य स्थानमा जग्गाको व्यवस्था गरिदिनुपर्ने व्यापारीहरू बताउँछन् । बुधवार बिहानैदेखि नगरपालिकाले डोजरलगायत कर्मचारी तयारी अवस्थामा राखेपछि आफूहरूले सामान उठाउन थालेको व्यापारी निर्मला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘व्यापार गर्न थालेको दश वर्ष भयो । ७० लाखको लगानी छ । सामान कहाँ लिएर राख्ने, केही समय दिएर उठाएको भएपनि हुन्थ्यो ।’

सामान उठाउन एक÷दुई दिनको समय दिनुपर्ने माग व्यापारीहरूको छ । व्यापारी वीरेन्द्र खनालले भन्दा बित्तिकै अन्य स्थानमा कोठा नपाइने भएकाले थप समस्या भएको बताए । सामान लिएर कहाँ राख्ने भन्ने समस्या भइरहेको उनको भनाइ छ । उनले भने, ‘अन्य स्थानमा कोठा खोजेको कतै पाइएन । नगरपालिकाले डोजर चलाएको छ । अब कहाँ जाने ? समस्या भयो ।’ वीरेन्द्रनगरले अहिले हटाउन थालेको स्थानमा एक सय २५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर संरचना हटाउन लागिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । सुन्दर वीरेन्द्रनगर निर्माणका लागि संरचना हटाउन थालिएकाले सबैको साथ आवश्यक रहेको नगरप्रमुख ढकालले बताइन् । उनका अनुसार नगरभित्रका आफ्नो स्वामित्वमा रहेको जग्गामा निर्माणभएका सबै अवैध संरचना हटाउन लागिएको उनको भनाइ छ । सम्भावित हुनसक्ने घटनालाई मध्यनजर गरेर प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । उनले भने, ‘बुधवार डोजर परिचालन गर्ने भनेर नगरपालिकाले जानकारी गराएको थियो । सोही बमोजिम सुरक्षा प्रबन्ध मिलाइएको छ ।’

 

 

प्रकाशित मितिः   १ चैत्र २०८०, बिहीबार ०५:०५