प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

सुर्खेत: कर्णाली प्रदेशसभाकोे हिउँदे अधिवेशन बुधवारदेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा दलका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका छन् ।

मुख्यमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले फेरिएको राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए । यद्यपि, विकसित परिस्थिति अहिलेको बाध्यता भएको समेत बताए । यसमा निर्वाचन प्रर्णालीको मुख्य भूमिका रहेको समेत उनको भनाइ थियो । यद्यपि, प्राप्त उपलब्धिहरूको रक्षा गर्दै विकास गर्नुपर्ने दायित्व सबैको भएको शर्माले जनाए ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सत्ता गठबन्धन बदलिए पनि प्रदेश सरकारले पूर्णता नपाउनु विडम्बनापूर्ण भएको बताए । उनले जतिसक्दो छिटो सरकारलाई पूर्णता दिएर सरकारले प्रदेशको समृद्धिका लागि गर्नुपर्ने काममा ध्यान केन्द्रित गर्न आग्रहसमेत गरे ।

नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले राजनीतिक परिस्थिति परिवर्तन भएपनि प्रदेशको विकासका लागि गर्नुपर्ने कार्यमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले सरकारलाई थप गतिशील र चलायमान बनाउनुपर्ने बताए । साथै विगतको एक वर्षको काम र भूमिकाका आधारमा सरकारको समीक्षा गरेर अघि बढ्नु पर्ने कँडेलले जनाए ।

नेकपा (एकीकृत समाजवादी)का कल्याणी खड्काले भूकम्प प्रभावितहरूको व्यवस्थापनमा सरकार थप गम्भिर बन्नुपर्ने धारणा राखिन् । उनले नागरिकहरू अहिले पनि त्रिपालमा बस्नुपर्ने अवस्थामा रहेको भन्दै उनीहरूको स्थायी बसोबासको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोषी शाहीले सत्ता फेरबदलको खेलबाट माथि उठेर सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् । सरकार परिवर्तनकै कारण सरकारको काम प्रभावकारी हुन नसकेको र जनताको जीवन सुधारमा कुनै प्रगति नभएको उनको टिप्पणी थियो ।

प्रकाशित मितिः   १ चैत्र २०८०, बिहीबार ०५:०२