अपांगता अधिकार कार्यान्वयनमा जोड

 

सुर्खेत: अपाङ्गता अधिकारसम्बन्धी गरिएका कानुनी व्यवस्था कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन् । वीरेन्द्रनगरमा बुधवार आयोजित अपाङ्गता भएका व्यक्तिहरूको सवालमा सरोकारवालासँगको समन्वय बैठकका सहभागीहरूले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंक सुर्खेत शाखाका रमेश पंगेनीले सहज बैंकिङ् सुविधा उपलब्ध गराउन नीतिगत रूपमा व्यवस्था गरिएको बताए । अपाङ्गता भएका व्यक्तिलाई विशेष रूपमा सेवा दिनेगरेको र अपाङ्गमैत्री संरचनाको समेत व्यवस्था गर्न लागिएको जनाए । इन्सेकका प्रतिनिधि पुरनप्रसाद चौधरीले अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने बताए । उनले राज्यले नीतिमा व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको जानकारी दिए ।

अशक्ततामैत्री पूर्वाधारहरूको अभाव रहेको र सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहायक सामग्रीहरू सहज उपलब्धता हुन नसकेको अपाङ्गता भएका व्यक्तिहरूले बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तिहरू असमानता र गैरभेदभावमा पर्ने भएकाले भेदभाव उन्मूलन गर्न कानुनी संरक्षणात्मक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिए । ऐन नियम र नीति कार्यान्वयन गर्नुपर्ने, अपाङ्गताको अवस्था, अध्ययन अनुसन्धान गरेर सेवा विश्लेषण गर्नुपर्ने उनको भनाइ छ । अपाङ्गताको आधारमा शारीरिक र मानसिक अखण्डताको लागि सम्मानको अधिकारको प्रत्याभूति गराउनुपर्नेमा उनको जोड छ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख लोकनाथ बास्तोलाले अपाङ्गका क्षेत्रमा पैरवी आवश्यक रहेको बताए । कतिपय अज्ञानताका कारण अपाङ्गता भएका व्यक्तिप्रति विभेद भइरहेको उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले मिडियाले अपाङ्गताका सवाल उठान गरिरहेको बताए । उनले भौतिक संरचना निर्माणदेखि नीति निर्माण गर्नेतहसम्म अपाङ्गताका विषय समेटिने गरेको जनाए ।

प्रकाशित मितिः   १ चैत्र २०८०, बिहीबार ०५:०१