पातमा ‘आर्ट’

सिर्जनशील शक्ति भएका व्यक्तिका लागि जहाँकहीँ अवसर हुन्छ । उनीहरू आफ्ना लागि आफै अवसर निर्माण गर्न सक्दछन् । भनिन्छ शिल्पकारहरूले आफ्नो कला अभिव्यक्त गर्ने माध्यमसमेत आफै निर्माण गर्न सक्षम हुन्छन् । यस्तै शिल्पी हुन्, जुम्लाको चन्दननाथ–४ का विराज भण्डारी । उनले विरुवाका पातलाई आफ्ना कला अभिव्यक्तिको साधन र माध्यम बनाए । हरिया पातहरूलाई शिल्पले खोपे र आकर्षक आर्ट तयार पारे । जसको अहिले देशभर चर्चा हुन्छ । पातमा बनाउने चित्र अर्थात् ‘लिफ आर्ट’ विराजको परिचयको आकाश फराकिलो मात्रै बनाइदिएको छैन आम्दानीको स्रोतसमेत भएको छ ।

‘लिफ आर्ट’ मा साधना गरिरहेका विराजले तीन वर्षअघि ओखरको पातमा लिपुलेकसहितको नेपालको नक्सा कोरेका थिए । त्यसलाई सामाजिक सञ्जालमा राखे । सञ्जालमा त्यसले निक्कै चर्चा पायो, विराजले सोचेभन्दा पनि बढी । त्यसपछि विराजको कलाले व्यावसायिक रूप लियो । पातहरूमा पोखिएको उनको कला सामाजिक सञ्जाल हुँदै विभिन्न सञ्चारमाध्यमसम्म पुगे । रेडियोदेखि पत्रपत्रिका र टेलिभिजनमा चर्चा सुरु भयो । अहिले भण्डारीका लागि आम्दानीको मुख्य स्रोत पनि त्यही ‘लिफ आर्ट’ नै बनेको छ । पातमा बनाउने चित्र अर्थात् लिफ आर्टबाटै लाखौँ कमाइरहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, खेलाडी, राजनितिज्ञ तथा वैज्ञानिकहरूको मानव आकृती दुरुस्तै पातमा उतार्ने क्षमताले विराजलाई आयआर्जनमा जोड्यो । उनले चार वर्षभित्र लिफ आर्टबाटै १२ लाखसम्म आम्दानी गरिसकेका छन् । जुम्ला बसाइको क्रममा उनले जिल्लाभित्रका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न व्याक्तिको अनुहार पातमा उतारेर आफ्नो क्षमता प्रस्तुत गरेका थिए । यसबाहेक जन्म दिन, विभिन्न पर्व तथा दिवस लक्षित चित्र र आकृति बनाएर कमाइमा जोडिएका विराजले आम्दानीसँगै ख्यातिसमेत बटुले ।

जुम्लामा मात्र सीमित विराजको कला अहिले देशव्यापी बनेको छ । आजभोली काठमाडांैका विभिन्न विद्यालयमा लिफ आर्टको प्रशिक्षणमा व्यस्त छन् । सुरुमा रहरले अँगालेको सीप अहिले आयआर्जनको स्रोत बनेको छ, जुम्ला, डोल्पा, झापा, भक्तपुर, ललितपुर, काठमाडांै लगायतका जिल्लाका विद्यालयमा लिफ आर्टको प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा विद्यार्थीलाई लिफ आर्ट अर्थात् पातमा बनाउने चित्रको महत्व, बनाउने तरिका, यसको बजारका बारेमा ज्ञान बाँडिरहेका छन् । पातमा कोरिएको आकृति आकाशलाई पृष्ठभूमि बनाएर राख्दा प्रष्ट रूपमा देखिन्छ । विराजले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि काठमाडांै महानगरपालिकाका मेयर बालेन शाहसम्मको आकृति बनाइसकेका छन् । यति मात्र होइन, उनीहरूबाट स्याबासीसमेत पाएका छन् । उनको कला अहिले देशव्यापी बनेको छ । आफूभित्रको प्रतिभालाई आफैले उजागर गरेर अरुका लागि पनि प्रेरणाका स्रोत बनेका छन् ।

प्रकाशित मितिः   २७ फाल्गुन २०८०, आईतवार ०५:०३