कर्णालीको दोस्रो जित

सुर्खेत: कोशी प्रदेश राष्ट्रिय टी–ट्वान्टी च्याम्पियनसिपमा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ । शनिवार विभागीय टोली नेपाल एपीएफलाई पराजित गर्दै कर्णालीले तीन खेलमा दुई जित निकालेको हो ।
मध्येक्रमका ब्याटर अर्जुन घर्तीले उत्कृष्ट प्रदर्शन गरेपछि एपीएफ ५१ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । कर्णालीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १४ रन मात्र बनाउँन सक्यो ।

एपीएफका लागि अमरसिंह राउटेलाले ३७ बलमा अविजित ३७ रन बनाए । विकेटकिपर हिमाशुं दत्त २५ रनमा अविजित रहे । पुरन विकले १८ तथा अरुन ऐरीले ११ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावत र कप्तान रविन्द्र शाहीले समान दुई÷दुई तथा प्रकाश जैशीले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६५ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ३४ बलमा ५५ रन बनाउँदा विपीन रावलले ३६ बलमा ४२ रन र रविन्द्रजंग शाही ३५ रन बनाए । एपीएफका लागि इर्शाद अहमद, रमेश कुर्मी, चन्दन राम अमरसिंह राउटेला र भुवन कार्कीले समान ११ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत कर्णालीले यसअघि मधेस प्रदेशलाई तीन विकेटले पराजित गरेको थियो । सुरुवाती दुइ खेलमा भने पराजित हुन पुगेको थियो । पहिलो खेलमा कोशी प्रदेशसँग ३८ रनले हारेको कर्णाली  त्रिभुवन आर्मी क्लबसँग ८ रनले पराजित भएको हो । समूह ए मा रहेको कर्णाली दुइ खेलमा विजयी हुँदा दुइवटामा पराजित भएको छ ।

प्रकाशित मितिः   २७ फाल्गुन २०८०, आईतवार ०५:०२