परीक्षण उडानको पर्खाइमा अर्को विमानस्थल

 

 

सुर्खेत: गत असोज १३ गते कालीकोटको कोटबाडास्थित सुनथराली विमानस्थलसँगै डोल्पाको मसिनेचौर विमानस्थलको परीक्षण उडान गर्ने कार्यतालिका तय गरिएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई वटै विमानस्थलको एकैपटक परीक्षण उडान गर्ने बताएका थिए । तर मन्त्री किराँतीले भने अनुसार उडान हुन सकेन । त्यसअघि गत भदौ १३ गते गर्ने भनिएको परीक्षण उडान पनि स्थगित भएको थियो ।

दुई पटक स्थगित भएर कालीकोटको सुनथराली विमानस्थल भने फागुन १३ गते परीक्षण उडानसहित १४ गते उद्घाटन समेत भइसकेको छ । तर डोल्पाको मसिनेचौर विमानस्थल भने परीक्षण उडानकै पर्खाइमा छ । निर्माण कार्य सम्पन्न भइसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।

 

डोल्पाको मसिनेचौर विमानस्थल भने परीक्षण उडानकै पर्खाइमा छ । निर्माण कार्य सम्पन्न भइसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन ।

 

त्रिपुरासुन्दरी नगरपालिमा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा रहेको मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ । निर्माण सम्पन्न भएको वर्षौसम्म विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय नागरिक निराश बनेका छन् । त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ७ का स्थानीय विष्णुलाल केसीले विमानस्थल बनेपनि हवाई सेवाबाट वञ्चित हुनुपरेको बताए । उनले भने, ‘घरआगनमा विमानस्थल बनेको छ । सञ्चालनमा छैन । हवाई सेवा लिन एकदिनको पैदल यात्रा गरेर जुफाल विमानस्थल जानुपर्ने बाध्यता छ ।’

जिल्लामै जुफाल विमानस्थल भएपनि सेवा लिन सहज नभएको केसीले जनाए । भनेको समयमा टिकट नपाउने र एक दिनको पैलदयात्रा गरेर मात्र जुफाल विमानस्थल पुग्नुपर्ने बाध्यता रहेको उनले जनाए । सम्बन्धित निकायको ध्यान नजाँदा विमानस्थलको परीक्षण उडानसमेत हुन नसकेको स्थानीयहरू बताउँछन् । परीक्षण गरेर नियमित उडान गर्न स्थानीयको माग छ । घरआगनमै विमानस्थल बनेपनि कष्टपूर्ण यात्रा गर्नुपरिरहेको उनीहरूको भनाइ छ ।

मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गर्दासमेत सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकको गुनासो छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का स्थानीय टिकादत्त न्यौपानले विमानस्थल नियमित सञ्चालन गर्न माग गरिएको बताए । उनले भने, ‘करोडौँ लगानी गरेर निर्माण गरिएको विमानस्थल प्रयोगविहीन बनेको छ । नागरिकले दैनिक सास्ती खेप्नुपरिरहेको छ ।’ विमानस्थल बनेको वर्षौं भइसक्दा पनि परीक्षण उडानसमेत नगर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपन भएको उनले बताए । सडक मार्गको सहज पहुँच नभएकाले विमानस्थल अपरिहार्य भएको न्यौपनोको भनाइ छ ।

पटक–पटक विमानस्थल सञ्चालन गर्ने भनिए पनि उक्त योजना अलपत्र पर्ने गरेको छ । यद्यपि, सञ्चालनका लागि पहल भइरहेको डोल्पाका जनप्रतिनिधिहरू बताउँछन् । विमानस्थलको परीक्षण तथा नियमित उडानका लागि पहल भइरहेको डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाही बताउँछन् । उनले भने, ‘अब जुफाल विमानस्थलको स्तरोनन्ति गर्न लागिएको छ । मसिनेचौर विमानस्थल छिट्टै सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।’ प्राविधिक र पूर्वाधार निर्माणका हिसाबले विमानस्थल सञ्चालन गर्न पूर्णरूपपमा योग्य छ । तर, हालसम्म परीक्षण उडानसमेत भएको छैन ।

परीक्षण उडानमा ढिलाइ भइरहेको विमानस्थललाई थप स्तरोन्नति गर्ने तयारी अघि बढाइएको छ ।

प्रकाशित मितिः   २७ फाल्गुन २०८०, आईतवार ०५:०५