फोहोर व्यवस्थापन गर
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड साइट बनाउन सकेको छैन । वीरेन्द्रनगर–१ र बराहताल गाउँपालिकाको वडा नं. १० को सिमानास्थित जंगललाई डम्पिङ साइटका रूपमा प्रयोग गर्ने गरिएको छ । तर डम्पिङ साइटमा पनि अव्यवस्थित र जथाभाबीरूपमा फोहोर फाल्ने गरिएको छ । यसरी फालिने फोहोरले बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट संकलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो । स्थानीयबासीले पटक–पटक ध्यानाकर्षण गराएपनि वीरेन्द्रनगरले फोहोर व्यवस्थापनमा ध्यान दिएको छैन । जसले गर्दा सिमलचौरबासी हैरान छन् । दुर्गन्ध सहन बाध्य भएका छन् । सडक छेउमा पनि सर्वत्र फोहोर छरिएको छ ।
वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माण भइरहेको छ । ल्याण्डफिल्ड साइट निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । न्यून बजेटका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । दिसाजन्य लेदो व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण थालिएको हो । २०६७ सालदेखि निर्माणको प्रक्रिया अघि बढाइएको थियो । अहिलेसम्म पनि काम अधुरै छ । बजेट अभावमा निर्माणका काम अघि बढाउन समस्या भएको बताइएको छ । नगरको फोहोर व्यवस्थापनका लागि करिब ३५ करोड बजेट लाग्ने अनुमान गरिएको छ । न्यून बजेटका कारण काममा ढिलाइ भइरहेको छ । पर्याप्त बजेट नहुँदा थप काम अघि बढाउन समस्या भएको नगरपालिकाले जनाएको छ । पालिकाले आफ्नै लगानीमा सडक स्तरोन्नति र केही पूर्वाधारका काम सम्पन्न गरेको छ । ठूला पूर्वाधारका काम अघि बढाउन बजेट अभाव भएको जनाइएको छ । कमजोर फोहोर व्यवस्थापनका कारण वीरेन्द्रनगर दिनप्रतिदिन कुरूप र दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले बजार क्षेत्रको फोहोरसमेत समयमै उठाउन सकिरहेको छैन । नगरले जारी गरेको फोहोरमैला व्यवस्थापन निर्देशिका समेत पूर्णरूपमा कार्यान्वयन भएको छैन । बढ्दो जनसंख्याको चापले वीरेन्द्रनगरमा फोहोर मैला व्यवस्थापन चुनौती बन्दै गएको छ ।
वीरेन्द्रनगरमा उत्पादित फोहोरले नगर मात्रै होइन छिमेकी पालिका बराहतालसमेत प्रभावित बनेको हो । गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको छ । त्यसमाथि प्लास्टिकजन्य फोहोरले वातावरण नै बिगारेको छ । जथाभाबी फोहोर जलाउँदा दैनिक कामकाजमा समेत बाधा पुगेको छ । प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईबस्तु एवम् कृषिउपज, वातावरणमा नै नकरात्मक असर परेको जनाइएको छ । वातावरणका साथै नागरिक स्वास्थ्यमा नै असर पर्ने गरी फोहोर फाल्ने कार्यलाई व्यवस्थित गर्न नगरपालिकाले तत्काल ल्याण्डफिल्ड साइट निर्माण गरेर फोहोर बिसर्जन गर्ने व्यवस्था गर्नु अपरिहार्य भएको छ ।
प्रकाशित मितिः १७ फाल्गुन २०८०, बिहीबार ०५:०३
सम्पादकीय ।