डिजिटल कर्णालीका लागि कन्क्लेभ
सुर्खेत: शुक्रवारदेखि डिजिटल कर्णाली कन्क्लेभ हुने भएको छ । कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा कन्क्लेभ हुन लागेको हो ।
डिजिटल साक्षरता विकासका लागि कनक्लेभ गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए । उनले दुई दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउन सहयोग गर्ने समेत जनाए । मन्त्री जिसीले विषयगत प्राथमिकता निर्धारण गर्न र आवश्यक नीतिगत निर्णय लिन सहज हुने विश्वाससहित आयोजना गरिएको बताएका हुन् ।
कन्क्लेभमा चार वटा महŒवपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानल सेसनहरू रहेका छन् । जसमा ४० जनाभन्दा बढी वक्ताहरूले भाग लिने जनाइएको छ । डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्व मुख्यमन्त्रीहरूको पावर सेसनसहित मनोहर कुमार भट्टराईको कर्णालीका लागि डिजिटल रूपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुति रहनेछ ।
यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युतीय सुशासन आयोगका सिइयो दिपेश विष्ट, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठसँगै युएनडिपी, नेपाल दूरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउन्डेसनको तर्फबाट कार्यपत्र प्रस्तुत हुनेछ ।
पहिलो दिन उद्घाटनपछिको सत्रमा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरू सञ्चालन हुनेछन् । दोस्रो दिनको पहिलो सत्रमा कर्णालीका लागि भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा केही प्रस्तुति रहनेछ । कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, डिजिटल पहुँचलगायतका आइडियाहरू प्रस्तुत हुनेछन् । यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेशन सञ्चालन हुनेछ । कार्यक्रमको पाँचौँ सेसन अन्तर्गत स्थानीय, प्रादेशिक र संघीय स्तरमा डिजिटल नेतृत्व र सुशासनको सुदृष्टिकरण विषयमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ ।
प्रकाशित मितिः १७ फाल्गुन २०८०, बिहीबार ०५:०४
साझा बिसौनी ।