दलित पहिचान जोगाउन संग्रहालय

सुर्खेत: दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन संग्रहालय निर्माण थालिएको छ । पहिचान संरक्षणसँगै ग्रामीण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न दलित संग्रहालय निर्माण थालिएको हो ।

भेरीगंगा नगरपालिका वडा नं. ८ डुमकोटमा संग्रहालयको भवन बनिरहेको छ । दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले संग्रहालय निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ । हाल संग्रहालयको भवन र कम्पाउन्ड निर्माणको काम धमाधम भइरहेको छ । उक्त संग्रहालयबाट दलित समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्न र उनीहरूको सीपबाट थप उद्यम सिर्जना गर्न सकिने लक्ष्य राखिएको छ । संग्रहालयलाई औद्योगिक क्षेत्रको रूपमा पनि विकास गर्न सकिने नगरप्रमुख यज्ञप्रसाद ढकालले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तीन करोड २० लाख लागतमा संग्रहालयको भवन निर्माण भइरहेको छ । २०७८ असोज १० गते बाट संग्रहालयको भवन निर्माणको काम थालिएको होे । २०७८ असोज १० गतेदेखि २०८० असार ३० गतेसम्म भवन निर्माण सम्पन्न गर्नेगरी नेपाल मेगा, लामा प्रगति, सुवास जेभी वीरेन्द्रनगरसँग ठेक्का सम्झौता गरिएको थियो । जेभीसँग नगरपालिकाले तीन करोड २० लाख ७३ हजारमा भवन निर्माणको सम्झौता गरेको हो । दुई वर्षमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारीलगायतका कारण ढिलाइ भएको जनाइएको छ । तर अहिले भवन निर्माणको काम धमाधम भइरहेको छ ।

अहिले म्याद थप गरेर भवन निर्माणको काम भइरहेको नगरपालिकाका सव–इन्जिनियर गणेश कार्कीले बताए । २०८१ असारसम्म म्याद थप गरिएको हो । सव–इन्जिनियर कार्कीका अनुसार भवन निर्माणको भौतिक प्रगति ४५ प्रतिशत भएको छ । यस्तै, वित्तीय प्रगति ४१ प्रतिशत हासिल भएको छ । नगरपालिका र वडाले समेत बजेट विनियोजन गरेर पूर्वाधार निर्माणका काममा सहयोग गरिरहेका छन् । गत वर्ष नगरपालिकाले संग्रहालयको सिढी निर्माणका लागि साढे दुई लाख बजेट विनियोजन गरेको थियो । यो वर्ष पनि दुई लाख बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ । वडा नं. ७ र ८ ले समेत संग्रहालयसम्म पुग्ने कच्ची सडक निर्माण गरिरहेका छन् । वडाले सडक स्तोन्नतिको काम गरिरहेको वडा नं. ७ का वडा अध्यक्ष कर्णबहादुर मिजारले बताए । उनले भने, ‘भवन वडा नं. ८ मा बनिरहेको छ । त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माणमा हामीले पनि सहयोग गरिरहेका छौँ ।’

कुनैबेला पूर्वी सुर्खेतका केही भाग दलित समुदायको राज्य थियो । साविकको मैनतडा र मेहेकुना क्षेत्रमा दलित समुदायका राजाले राज्य गर्ने गरेको इतिहास रहेको जानकारहरू बताउँछन् । सातौँ शताब्दी अघिको दलित राज्यमा अहिले संग्रहालय बनाउन थालिएको स्थानीय जयवीर विकले बताए । उनका अनुसार हालको भेरीगंगा नगरपालिका–७ र ८ को केही क्षेत्रमा दलितले राज्य गर्ने गरेको इतिहास भेटिएको छ । डुमकोटी राजाले राज्य गरेको डुमकोट डाँडा र डुमकोटी राजाको स्थानलाई अहिले दलितहरूको अध्ययन, अनुसन्धान र पर्यटकीय केन्द्र बनाइँदैछ । ‘विक्रम संवत् १३७० सम्म डुमकोटी राजाले राज्य गरेको ऐतिहासिक डुमकोट डाँडा अहिले पर्यटकीय स्थलका रूपमा परिचित छ,’ डुमकोटी राज्यबारे जानकार जयविर सुनारले भने, ‘डुमकोटी राजाको राज्य र राजधानी रहेको डुमकोट डाँडालाई खोज, अनुसन्धान, उत्खनन् र पर्यटकीय केन्द्र बनाउँदैछौँ ।’ दलित समुदायको पहलमा संग्रहालय निर्माणको काम अघि बढाइएको विकले बताए । ‘दलित समुदायको राज्य रहेको यही ठाउँमा अहिले डुमकोट दलित संग्रहालय बन्दैछ,’ जयवीरले भने, ‘विभिन्न पूर्वाधार निर्माणका काम अघि बढाइएको छ ।’

डुमकोटी राज्य रहेको स्थानमा २५ वटा सुरुङ फेला परेको भन्दै विकले अहिले त्यस्ता संरचनाको खोजी भइरहेको समेत जानकारी दिएका छन् । ‘आफ्नो राज्यलाई बचाउन डुमकोट डाँडा वरपर सुरुङहरू निर्माण गरेको देखिन्छ,’ उनले भने, ‘उत्खनन् गर्दा जातो, पाला, तलबार लगायतका पुरातात्विक वस्तुहरू फेला परेका छन् ।’ विक्रम संवत् १३७० मा नजिकैका अर्का राजाले डुमकोटमा आक्रमण गरे । गुर्भाकोटी राजाको आक्रमणबाट भागेका डुमकोटीहरू रुकुमको अर्माखोलामा बसाइँ सरेको अनुसन्धानले देखाउँछ । ‘तत्कालीन अवस्थामा घरेलु हतियार प्रशस्त भएपनि जनसंख्या कम हुँदा गुर्भाकोटी राज्यले डुमकोटमाथि विजय प्राप्त गरेको देखिन्छ,’ उनले भने, ‘युद्धमा पराजय भोगेर राज्य गुमाएका डुमहरू रुकुमको अर्माखोलामा बसेको पाइएको छ ।’ रुकुमको अर्माखोलाका सार्की समुदायलाई ‘सुर्खेती सार्की’ भन्ने गरिन्छ । डुमकोटी राज्य र यसको प्रचार–प्रसारका लागि डुमकोट पर्यटन विकास समिति पनि गठन गरिएको छ । संग्रहालयसँगै डुमकोट राज्यका बारेमा खोज, अनुसन्धान र परम्परागत दलित समुदायको सीप, भेषभूषाको संरक्षण हुने सुनारको भनाइ छ ।

दलित समुदायका जानकार सहवीर महतले डुकमोट डाँडा र त्यस वरपर अहिले पनि दलित समुदायको धेरै बसोबास रहेको बताए । दलितहरूको पहलमा संग्रहालय निर्माण थालिएको र थप अध्ययन र अनुसन्धानको काम भइरहेको उनको भनाइ छ । संग्रहालयमा दलित समुदायको परम्परागत सीपबाट निर्मित ठेक्का, डाला, गाबु, छाला जुत्ता, सुल्पा, खुकुरी, भरुवा बन्दुक, पोसाकलगायतका सामग्री राखिने जनाइएको छ । नगरप्रमुख ढकाल कुनैबेला दलितले छुट्टै राज्य चलाएको ठाउँको अध्ययन र अनुसन्धान गर्न संग्रहालय बनाउन लागिएको बताए ।

प्रकाशित मितिः   १७ फाल्गुन २०८०, बिहीबार ०५:०५