शान्ति सुरक्षामा चुनौती

शनिवार राति वीरेन्द्रनगरमा एक युवालाई लक्षित गरेर गोली प्रहार भयो । वीरेन्द्रनगर–१ गैरीचोकमा स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली प्रहार भएको थियो । पेस्तोलको गोली प्रहारबाट गिरीको गाडीको सिसा फुटेपनि मानवीय क्षति भने भएन । यो घटनाले आपराधिक घटना र शान्ति सुरक्षाको अवस्थाबारे चिन्तित बनाएको छ । भारतीय सुटर प्रयोग गरेर घटना भएको खुलेसँगै नागरिकमा त्रासको वातावरण बनेको छ ।

घटना योजनाबद्धरूपमा गरिएको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विगत एक महिनादेखि योजना बनाएर शनिवार गोली प्रहार गरिएको हो । घटनामा संलग्न चार जना पक्राउ परेका छन् । प्रहरीले आइतवार नै उनीहरूलाई सार्वजनिक गरिसकेको छ । भारतीय सुटरलाई दुई लाख रूपैयाँ दिएर गिरीमाथि गोली प्रहार गर्न लगाएको प्रहरीले जनाएको छ । भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुतलाई प्रयोग गरेर गोली प्रहार गरिएको हो । राजपुतसँगै कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, अर्का १८ वर्षीय भरत भुल र वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी पनि घटनामा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरू चारै जना पक्राउ परेका छन् भने अन्यको पनि खोजी भइरहेको छ । प्रहरीकाअनुसार यसमा इन्द्रको भूमिका बढी देखिएको छ । उनले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको फेला प्रहरीले पारेको छ । करिब २०–२५ दिन अघि इन्द्रले ती पुरूषलाई कैलालीको अत्तरियामा भेटेका थिए । हत्याकै योजना बनाउन ती व्यक्तिले इन्द्र, भरतलाई नेपालगञ्जमा भेटेको खुलेको छ । नेपालगञ्जमा भेट्दा ती अज्ञात व्यक्तिले भनेका थिए, ‘हामीसँग सुटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ ।’ त्यसबापत उनीहरूलाई डेढ लाख रूपैयाँ दिने कुरा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अज्ञात पुरूषले नै विनोदको हत्या गर्न इन्द्रलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएका थिए ।

सुटर भनिएका राजपुत र उनका सहयोगी फागुन ७ गते वीरेन्द्रनगरमा आएका थिए । उनीहरूलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था राजनले मिलाएका थिए । होटलमा सुटर राजपुतसहित तीन जना थिए । भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएका थिए । यसरी योजनावद्ध हत्या प्रयासको घटनाले एकातिर मौलाउँदो आपराधिक गतिविधिलाई उजागर गरेको छ भने अर्कोतिर शान्ति सुरक्षामा प्रहरी प्रशासन अझ सतर्क हुनुपर्नेमा सचेत बनाएको छ ।

प्रकाशित मितिः   १५ फाल्गुन २०८०, मंगलवार ०५:०३