सैनिक आवासीय महाविद्यालयको वार्षिकोत्सव

सुर्खेत: सैनिक आवासीय महाविद्यालय सुर्खेतले विविध कार्यक्रमसहित १८औँ वार्षिकोत्सव तथा १७औँ अभिभावक दिवस मनाएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रेमबहादुर विश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विज्ञान प्रदर्शनी, आर्ट प्रदर्शनीलगायत विभिन्न शैक्षिक प्रदर्शनी गरिएको छ । त्यसैगरी विद्यार्थीहरूले साहित्यिव तथा साँस्कृतिक प्रस्तुतीका साथै खेल प्रदर्शनसमेत गरेका छन् । महाविद्यालयका तीन सयभन्दा बढी विद्यार्थीहरूले सांस्कृतिक तथा शैक्षिक प्रदर्शनीमा भाग लिएको विद्यालयका अतिरिक्त विभाग प्रमुख बेतेन्द्रकुमार दहालले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उत्तर–पश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी प्रकाश थापाले व्यक्तिको सर्वाङ्गीण विकासका लागि पठनपाठनका साथै यस्ता किसिमका कार्यक्रमको महŒव उच्च रहेको बताए । बालबालिकाहरूका अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन गराउन महाविद्यालयले उपयुक्त वातावरण सिर्जना गरेको उनको भनाइ थियो । सोही अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकलगायतलाई पुरस्कृत पनि गरिएको छ ।
वार्षिकोत्सवमा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव धिरेन्द्रप्रसाद शर्मा, महाविद्यालयका प्रमुख व्यवस्थापकीय अधिकृत प्रमुख सेनानी निकिल कुवँरलगायतको सहभागीता रहेको थियो ।


साझा बिसौनी ।