विमानस्थल उद्घाटन हुँदै

कालीकाेट: कालीकोटको कोटवाडास्थित सुनथराली विमानस्थल दोस्रो पटक परीक्षण उडान गरिएको छ । आइतवार तारा एयरको विमान अवतरण गराएर दोस्रो पटक परीक्षण उडान गरिएको हो । यसअघि २०७३ माघमा कच्ची धावनमार्ग हुँदा तारा एयरको विमान अवतरण गरेर परीक्षण गरिएको थियो । यद्यपि, त्यसपछि नियमित उडान भने हुन सकेन ।

आइतवार परीक्षण गरिएको विमानस्थलको सोमवार औपचारिकरूपमा उद्घाटन हुँदैछ । नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल उद्घाटन गर्ने कार्यक्रम बनाइएको छ । उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएपनि उनी नआउने भएका छन् । कार्यव्यस्तताले प्रधानमन्त्री आउने कार्यतालिका रद्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक जगनाथ निरौलाले जानकारी दिए । उनका अनुसार आइतवार दिउसो ३ बजे मात्र कार्यतालिका परिवर्तन भएको हो । ‘यस अघिपनि प्रधानमन्त्रीका कारण कार्यक्रम स्थगित हुँदै आएको थियो । यो पटक उहाँ नजानेभएपनि मन्त्री किराँती उद्घाटनका लागि जानुहुनेछ’ निरौलाले भने ।

उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । सोमवार औपचारिक उद्घाटन गरेर व्यवसायिक उडान आरम्भ गर्ने तयारीमा लागेको उनको भनाइ छ । पर्यटन मन्त्री किराँतीसहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र मन्त्रीहरूको सहभागीमा औपचारिक रूपमा विमानस्थलको उद्घघाटन हुने उनले जानकारी दिए ।

यसअघि विमानस्थल उद्घाटनका लागि चार पटक सूचना गरिएको थियो । पटक–पटकको सूचना भएर स्थगित हुँदै आएको उद्घाटन कार्यक्रम सोमवार पनि हुन्छ कि हुन्न भन्ने आसंका नागरिकमा छ । तर गाउँपालिका अध्यक्ष विष्टले भने यो पटक तोकिएकै समयमा विमानस्थल उद्घाटन हुने स्पष्ट पारेका छन् । ‘फागुन १४ गते सोमवार बिहान १० बजे नै कार्यक्रम राखिएको छ । पर्यटन मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम भएकाले समयमै सबै सहभागी भइदिन पालिकाले सबैमा निमन्त्रणा समेत गरेको छ,’ अध्यक्ष विष्टले भने ।

२०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिद्वारा एक लाख रूपैयाँ छुट्याएर निर्माण कार्य सुरु भएको बिमानस्थलको नियमितरूपमा आर्थिक वर्ष २०४८÷०४९ बाट निर्माण कार्य सुरू भएको थियो । झन्डै ३८ वर्षदेखि निर्माण सुरु भएको सुनथराली विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   १४ फाल्गुन २०८०, सोमबार ११:०८