पर्यटन प्रवर्द्धनको योजना

सरकारले पर्यटन प्रवर्द्धन गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । सोही योजनाअन्तर्गत डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको छ । शे–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ र ८ को बस्तीलाई एकीकृत गरेर बस्ती विकास गर्न लागिएको हो । चालु आर्थिक वर्षबाट उक्त काम थालिएको छ । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशकै गौरवको शे–फोक्सुन्डो तालको संरक्षण र प्रवद्र्धनका लागि तालको किनाराको बस्तीलाई विकास गर्न लागिएको हो । शे–फोक्सुन्डो ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ ।

पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पाँच करोड विनियोजन गरेको छ । प्रदेश सरकारको पाँच करोड र संघीय सरकारको पाँच करोड गरेर दश करोड लगानीमा यो वर्ष बस्ती विकासको काम थालिएको छ । स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको छ । तालको संरक्षण गर्ने, धार्मिक महङ्खवका संरचना निर्माण गर्ने, रिंग्मो गाउँलाई एकीकृत रूपमा विकास गर्ने कार्यक्रम रहेको छ । बहुवर्षीय योजना भएकाले अहिले प्रि–फिजिबिलिटी अध्ययन भइरहेको छ । पहिलो चरणको काम धमाधम भइरहेको छ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जभित्र पर्ने यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । डोल्पा जिल्ला सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट तीन हजार ६ सय ११ मिटर उचाइमा रहेको तालको लम्बाइ चार दशमलव आठ किलोमिटर र चौडाइ एक दशमलव ६ किलोमिटर छ । गहिराइ ६ सय ५० मिटर छ ।

तालको दक्षिणी छेउमा रिंग्मो गाउँ छ । जुन गाउँमा पर्यटकको आतिथ्यताका लागि होटल तथा लजहरू रहेका छन् । प्रदेश र संघीय सरकारले रिंग्मो गाउँलाई आवश्यक पूर्वाधार निर्माण गरेर बस्ती विकास गर्ने लक्ष्य अनुरूप काम अघि बढाएको हो । पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भिœयाउने लक्ष्य सरकारले राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर काम अघि बढाइएको हो । योजना कार्यान्वयन भएमा कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने छ । त्यसका लागि सरकारले बजेटको व्यवस्थापन सँगसँगै योजना कार्यान्वयनमा समेत ध्यान दिन जरुरी हुन्छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०८०, सोमबार ०५:०३