उपकुलपति छनोट प्रक्रिया अझै अन्योलमा

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको उपकूलपति छनोट प्रक्रिया अन्योलमा परेको छ । मापदण्डमाथि विवाद भएपछि स्थगित गरिएको प्रक्रिया अघि बढ्न सकेको छैन ।

उपकुलपति छनोट तथा सिफारिस समिति संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समय अभावका कारण निर्णय हुन नसकेको बताएका छन् । ‘समिति सदस्यहरूको समय नमिलेकाले छलफल तथा बैठक बस्न नसकेको हो । चाँडै बसेर निर्णय सार्वजनिक गर्छौं,’ उनले भने ।

उपकुलपति छनोटको लागि बनाइएको मापदण्डमा विवाद भएपछि समितिले फागुन ६ गते मध्यपश्चिम विश्वविद्यालयसँगै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित गरेको थियो । यी दुवै विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वमा शिक्षा सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेश चन्द्र पौडेल सदस्य रहेको छनोट तथा समिति गठन गरेको छ ।

समितिले २६ माघमा सूचना प्रकाशन गरेर दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा मध्यपश्चिमको उपकुलपतिका लागि नौ जनाले आवेदन दिएका छन् । तर मापदण्ड अनुकूल नभएको भन्दै विरोध भएको थियो ।

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट मापदण्डमा अनुसन्धानलाई ३५ अंक छुट्याएको छ । अन्तरवार्ता र विश्वविद्यालयको कार्ययोजना प्रस्तुतिलाई कम प्राथमिकता दिइएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि भने अनुसन्धानलाई ६ अंक र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि १६ अंक अनुसन्धानलाई छुट्याइएको थियो । त्यही मापदण्डलाई आधार मानेर आवेदकहरूले आपत्ति जनाइरहेको समितिले जनाएको छ । अब कार्यविधि संशोधन अथवा कसरी अगाडि बढ्ने भन्ने विषयमा समितिको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०८०, सोमबार ०५:०१