योजनाबद्ध हत्या प्रयास

सुर्खेत: शनिवार राति वीरेन्द्रनगरमा एक युवालाई गोली प्रहार भएको घटना योजनाबद्धरूपमा गरिएको पाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विगत एक महिनादेखि योजना बनाएर शनिवार गोली प्रहार गरिएको हो ।
शनिवार राति वीरेन्द्रनगर–१ गैरीचोकमा स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली प्रहार भएको थियो । पेस्तोलको गोली प्रहारबाट गिरीको गाडीको सिसा फुटेपनि मानवीय क्षति भने भएन । घटनामा संलग्न चार जनालाई पक्राउ गरेर प्रहरीले आइतवार सार्वजनिक गरेको छ । घटनामा भारतीय ‘सुटर’ प्रयोग भएको खुलेको छ ।
भारतीय सुटरलाई दुई लाख रूपैयाँ दिएर गिरीमाथि गोली प्रहार गर्न लगाएको प्रहरीले जनाएको छ । भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपुतलाई प्रयोग गरेर गोली प्रहार गरिएको हो । उनी पक्राउ परेका छन् । राजपुतसँगै कैलालीको गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, अर्का १८ वर्षीय भरत भुल र वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी पनि घटनामा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरू चारै जना पक्राउ परेका छन् भने अन्यको पनि खोजी भइरहेको छ ।
प्रहरीकाअनुसार यसमा इन्द्रको भूमिका बढी देखिएको छ । उनले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको फेला प्रहरीले पारेको छ । करिब २०–२५ दिन अघि इन्द्रले ती पुरूषलाई कैलालीको अत्तरियामा भेटेका थिए । हत्याकै योजना बनाउन ती व्यक्तिले इन्द्र, भरतलाई नेपालगञ्जमा भेटेको खुलेको छ । नेपालगञ्जमा भेट्दा ती अज्ञात व्यक्तिले भनेका थिए, ‘हामीसँग सुटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ ।’ त्यसबापत उनीहरूलाई डेढ लाख रूपैयाँ दिने कुरा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अज्ञात पुरूषले नै विनोदको हत्या गर्न ईन्द्रलाई एक नाल कटुवा पेस्तोल र दुई राउण्ड गोली उपलब्ध गराएका थिए । योजना बनाउने व्यक्तिले सुटर भनिएका राजपुतलाई दुई लाख रूपैयाँ दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले बताए ।
सुटर भनिएका राजपुत र उनका सहयोगी फागुन ७ गते वीरेन्द्रनगरमा आएका थिए । उनीहरूलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था राजनले मिलाएका थिए । होटलमा सुटर राजपुतसहित तीन जना थिए । भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएका थिए । ती अज्ञात व्यक्तिले नै योजनाअनुसार सुटरहरूलाई विनोदको घर–ठेगाना हुलियासहित दिएका थिए ।
उनीहरूको योजनाअनुसार शनिवार सुटरको समूहले विनोद गिरीको गाडीलाई पछ्याएको थियो । वीरेन्द्रनगर–१ गैरीचोकमा पुगेपछि भने गोली प्रहार गरेका थिए । गोली प्रहार गरेलगत्तै सुटरको मोटरसाइकल र विनोदको गाडी ठोक्किएका थिए । जसपछि सुटरहरू फरार भए । अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपनि यसमा हत्या गर्नुपर्ने कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । भारतीय सुटर प्रयोग गरेर भएको घटनाले वीरेन्द्रनगर त्रसित बनेको छ ।
प्रकाशित मितिः १४ फाल्गुन २०८०, सोमबार ११:०४
साझा बिसौनी ।