फोहोर व्यवस्थापन
पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा फोहोर व्यवस्थापन गर्नेगरी ‘फोहोर प्रशोधन केन्द्र’ निर्माण हुने भएको छ । प्रदेश र स्थानीय सरकारको लगानीमा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । भेरीगंगा नगरपालिका वडा नं. १२ को रामजानकी सामुदायिक वनमा प्रशोधन केन्द्र निर्माण थालिएको नगरपालिकाले जनाएको छ । ९९ वर्ष जग्गा भोगाधिकार गर्नेगरी सामुदायिक वनले २० रोपनी जग्गा नगरपालिकालाई हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षबाट प्रशोधन केन्द्र निर्माणको काम थालिएको हो । प्रशोधन केन्द्र निर्माणका लागि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार संरचना निर्माण गरिने छ ।
२०७९ चैतमा डीपीआर निर्माण गरिएको हो । उक्त वर्ष नै नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) समेत निर्माण गरेको छ । फोहोर प्रशोधन केन्द्र निर्माणका लागि प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा उक्त योजनाको निरन्तरताका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले ४९ लाख ५० हजार बजेट छुट्टाएको छ । प्रदेश र स्थानीय सरकारको लगानीमा प्रशोधन केन्द्र निर्माण थालिएको हो । प्रशोधन केन्द्रसम्म पुग्ने पहुँचमार्ग निर्माण लगायतका काम सकिएको नगरपालिकाले जनाएको छ । अन्य संरचना निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ । विद्युत विस्तारको कामसमेत अघि बढेको छ । आवश्यक भवन निर्माणलगायतका काम अघि बढाउन अबको एक/दुई दिनमा टेण्डर गर्ने तयारी भइरहेको छ । हालसम्म उक्त क्षेत्रका वरपर ग्रावेल बाटो र केही ब्लकहरू निर्माण भइसकेको र अब सडक स्तरोन्नति र आवश्यक भवन निर्माणका काम थालिने नगरपालिकाले जनाएको छ । फोहोरलाई मोहोर बनाउन प्रशोधन केन्द्र निर्माण थालिएको हो । फोहोर व्यवस्थापन र प्रशोधन गरी ग्यास उत्पादन गर्ने योजनासमेत बनाइएको छ । फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
पछिल्लो समय सहरीकरण बढ्दै छ । विकासका पूर्वाधार निर्माण भएसँगै गाउँहरू समेत सहरमा परिणत हुँदैछन् । जनसंख्या पनि बढ्दो छ । फोहोर पनि बढेको छ । यसरी उत्पादित फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । स्थानीय पालिकाहरू फोहोर व्यवस्थापनमा सफल हुन सकेका छैनन् । अधिकांश पालिकाहरूमा ल्याण्डफिल साइटसमेत छैनन् । यस्तो अवस्थामा भेरीगंगाले फोहोरलाई मोहरमा रूपान्तरण गर्ने योजनासहित अघि सारेको फोहोर प्रशोधन केन्द्र निर्माण योजना अन्य स्थानीय तहहरूका लागि पनि अनुकरणीय हुन सक्दछ ।
प्रकाशित मितिः १० फाल्गुन २०८०, बिहीबार ०५:०३
सम्पादकीय ।