कुपोषणले ग्रस्त कर्णालीका गाउँ

कुुपोषण न्यूूनीकरण गर्न पौष्टिक तत्व स्तरोन्नतिसहितको चामल वितरण

 

सुर्खेत: पछिल्ला केही वर्षयताका सरकारी तथ्यांक केलाउँदा कर्णालीमा कुपोषणको दर निकै डरलाग्दो देखिएको छ । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार प्रदेशमा ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ । १८ प्रतिशतको कम तौल तथा चार प्रतिशतमा ख्याउटेपना र ४८ प्रतिशत बालबालिका रक्तअल्पताबाट पीडित छन् ।

सरकारी तथा गैरसरकारी संस्थाहरूले सार्वजनिक गरेका तथ्यांक र सर्वेक्षणहरूले अधिकांश बालबालिका कुपोषणको शिकार भएको पुष्टि गरेको छ । कर्णालीका दुर्गम गाउँहरूमा घरैपिच्छे कुपोषित बालबालिका छन् । प्रदेशमा ३० प्रतिशत बालबालिकाले न्यूनतम् आहार उपभोग गर्न पाउँदैनन् । सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने पोषणसम्बन्धी राष्ट्रिय लक्ष्य छ । तर, कर्णालीको अहिलेको अवस्था हेर्दा राष्ट्रिय लक्ष्य भेटाउन सहज छैन । कुपोषणको अवस्थामा सुधार ल्याउन गरिबी प्रमुख चुनौती बनेको छ । प्रदेशको गरिबी दर ५१ प्रतिशत छ ।

यस्तै कर्णालीमा बालमृत्यूदरको अवस्था पनि उस्तै छ । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार बालमृत्युदरको अवस्थासमेत भयावह देखिएको छ । पाँच वर्षमूनिका प्रति एक हजार जिवितमध्ये ४६ जना बालबालिकाको मृत्यु हुनेगरेको छ । एक वर्षमूनिका एक हजार जिवित शिशु बालबालिका मध्ये ३७ बालबालिकाको मृत्यु भएको छ । जन्मिएका २८ दिनका नवशिशुमध्ये २६ जनाको मृत्यु हुनेगरेको छ ।

यसैबीच कर्णालीमा पौष्टिक तत्व स्तरोन्नतिसहितको चामल (फोर्टिफाइड राइस) उत्पादन र बिक्री वितरण सुरु गरिएको छ । बुधवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो । सो चामल कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण गरिने भएको छ । कुपोषण न्यूनीकरण गर्नका लागि स्तरोन्नति गरिएको चामल वितरण सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीले पाँच जिल्लामा वितरणको काम सुरु गरेको हो । पाइलट प्रोजेक्टका रूपमा पाँच जिल्लामा पौष्टिक तत्व स्तरोन्नतिसहितको चामल वितरण गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यकारी प्रमुख मोहनप्रकाश चन्दले बताए । उनका अनुसार कर्णालीमा यो वर्ष ७३ हजार क्वीन्टल पौष्टिक तत्व भएको चामल बिक्री गरिनेछ ।

यो चामलको प्रयोगले बाल मृत्युदर कम गर्न मद्दत पुुग्ने बताइएको छ । खाद्य कम्पनीले बर्दियाको राजपुरमा रहेको मिलको चामलमा पौष्टिक तत्व स्तरोन्नति गर्न आवश्यक पर्ने मेसिनरी तथा अन्य सामग्री जडान गरी उत्पादन सुरु गरेको हो । कर्णालीका लागि आवश्यक पर्ने ६ हजार क्वीन्टल चामल तयार भइसकेको प्रमुख चन्दले जानकारी दिए । सुरुमा परीक्षणका लागि पाँच जिल्लामा वितरण गरिएको भएपनि सबै जिल्लामा वितरण गर्ने लक्ष्य राखिएको उनले बताए । ‘दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर चामल बनाइन्छ’ प्रमुख चन्दले भने, ‘अहिले एक्स्टुजन विधिबाट धमाधम चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाई एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी उत्पादन गरिन्छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा पौष्टिक तत्व स्तरोन्नतिसहितको चामल राखिएको छ । पौष्टिक तत्व भएको चामलको सफल परीक्षण भएसँगै बिक्री सुरु गर्न लागिएको प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले बताए । एक महिना अघि हुम्ला, मुगुलगायतका जिल्लामा उक्त चामलको परीक्षण गरिएको थियो । हाल कार्यालयमा उक्त चामल एक हजार एक सय क्वीन्टल मौज्दात रहेको उनले जानकारी दिए । मिश्रले भने, ‘तोकिएका पाँच जिल्लामा चामल पठाउने तयारी छ । उक्त चामल वितरण गर्दा पाँच वर्षमूनिका बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाहरूको तथ्यांक राखिनेछ ।’

स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार पारिएको खाद्य तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । पहिलो चरणमा ६ हजार मेट्रिक टन स्तरोन्नति गरिएको चामल वितरण गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

दोस्रो चरणमा अन्य जिल्लामा समेत वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासुु, दुुधजन्य परिकारआदि मिलाएर उपयोग गरेमा शरिरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुन्छ ।

चामलको गुणस्तरसम्बन्धी मापदण्ड अनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम, जिङ्क ३२ देखि ५९ मिलिग्राम, भिटामिन ‘ए’ ०.८९ देखि २.२१, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी–१२ भने ०.००७ देखि ०.०२० मिलिग्राम हुनुपर्ने छ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिङ्क अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ ।

प्रकाशित मितिः   १० फाल्गुन २०८०, बिहीबार ०५:०५