उपकुलपति नियुक्ति प्रक्रिया स्थगित
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । मापदण्डमाथि विवाद भएपछि स्थगित गरिएको हो । उपकुलपतिको मापदण्ड कडा बनाएको गुनासो बढेपछि नियुक्ति प्रक्रिया स्थगित भएको उपकुलपति छनोट तथा सिफारिस समितिले जनाएको छ । कुलपति एवम् प्रधानमन्त्रीकै चहानामा छनोट प्रक्रिया स्थगित गरिएको हो ।
मापदण्डमा विवाद भएपछि मध्यपश्चिमसँगै सुदूरपश्चिम विश्वविद्यालयको उपकूलपतिको नियुक्ति प्रक्रिया पनि रोकिएको छ । समितिले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट मापदण्डमा अनुसन्धानलाई ३५ अंक छुट्याएको छ । अन्तर्वार्ता र विश्वविद्यालयको कार्ययोजना प्रस्तुतिलाई कम प्राथमिकता दिइएको छ ।
अब कार्यविधि संशोधन अथवा कसरी अगाडि बढ्ने भन्ने विषयमा समितिको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको छनोट तथा सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा. देवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘निर्णय गर्न अझै केही दिन लाग्छ । समितिको बैठक तथा छलफलपछि निर्णय गर्छौं ।’
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि भने अनुसन्धानलाई ६ अंक र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि १६ अंक अनुसन्धानलाई छुट्याईएको थियो । त्यही मापदण्डलाई आधार मानेर आवेदकहरूले आपत्ति जनाइरहेको समितिले जनाएको छ ।
समितिले गत २६ माघमा सूचना निकालेर उपकुलपति पदमा दरखास्त आह्वान गरेको थियो । १० दिनको समयावधि तोकेर आवेदन आह्वान गरेको समयावधि सकिने दिन नै अर्थात् ६ फागुनमा समितिले अर्को सूचना निकाल्दै छनोट प्रक्रिया स्थगित भएको जनाएको थियो । उक्त अवधिमा १८ जना आवेदक (मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि नौ जनाले र सुदूरपश्चिमका लागि नौ जनाले) आवेदन दिएको समितिले जनाएको छ । आगामी १८ फागुनमा सुदूरपश्चिम विश्वविद्यालयको र १७ फागुनमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरूको कार्यकाल सकिँदैछ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजकत्वमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी र योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेश चन्द्र पौडेल सदस्य रहेको मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय छनोट तथा सिफारिस समिति बनेको छ ।
प्रकाशित मितिः १० फाल्गुन २०८०, बिहीबार ०५:०१
साझा बिसौनी ।