उद्योगलाई पूर्वाधार
पश्चिम सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अघि बढेको छ । चालु आर्थिक वर्षमा संघ र प्रदेश सरकारको लगानीमा सडक र विद्युत विस्तारको काम अघि बढाइएको हो । प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्ने भएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो । वातावरणीय प्रभाव मूल्यांकन (इआईए) स्वीकृतिका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा फाइल पेस गरिएको छ । उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ ।
प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गतवर्ष नै सडक निर्माणका लागि डीपीआर निर्माण गरिसकेको छ । डीपीआर अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम यो वर्ष गरिनेछ । अहिलेलाई १३ करोड बजेटको स्रोत सुनिश्चितताको फाइल अर्थ मन्त्रालयमा पेस गरिएको छ । इआईए स्वीकृति भएपछि मात्र बजेटको स्रोत सुनिश्चितताको फाइल अघि बढ्ने छ । राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गर्न लागिएको छ । सडक निर्माण गर्दा तीन हजार तीन सय ३७ रुख कटान गर्नुपर्नेछ । संघ र प्रदेश सरकारले उद्योगको पूर्वाधार निर्माण गर्न सहयोग लागेका हुन् । संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत ठूला उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने जनाएका थिए । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाइएको हो ।
संघीय सरकारले उद्योग सञ्चालनका लागि विद्युत विस्तारको काम अघि बढाएको छ । अहिले विद्युत विस्तार गर्न टेण्डर आह्वान गरिएको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतले विद्युत विस्तारको कामका लागि टेण्डर आह्वान गरेको हो । उद्योगसम्म विद्युत विस्तार गरिनेछ । जसका लागि संघीय सरकारले पाँच करोड बजेट विनियोजन गरेको छ । यस्तै प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले समेत उद्योग सञ्चालनका लागि सहयोग गरेको छ । मन्त्रालयले त्यहाँको बस्ती र उद्योग सञ्चालनका लागि खानेपानीको योजना अघि बढाएको हो । आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्योगको कामले गति लिन नसकेको हो । अब भने पूर्वाधार निर्माणसँगै उद्योग निर्माणका काम अघि बढ्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः ९ फाल्गुन २०८०, बुधबार ०५:०३
सम्पादकीय ।