सूर्यतारा सिमेन्ट उद्योग: सडक र विद्युत विस्तारको काम अघि बढ्यो

 

सुर्खेत: पश्चिम सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अघि बढेको छ । चालु आर्थिक वर्षमा संघ र प्रदेश सरकारको लगानीमा सडक र विद्युत विस्तारको काम अघि बढाइएको हो ।

प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दश किलोमिटर सडक निर्माण गर्ने भएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो । वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को स्वीकृतिका लागि मन्त्रालयमा फाइल पेस गरिएको निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले जानकारी दिए । उनका अनुसार इआईए स्वीकृतिको फाइल प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । सबै प्रक्रिया पूरा गरी इआईए स्वीकृतिको चरणमा रहेको भन्दै उनले त्यसपछि अन्य काम अघि बढाइने जानकारी दिए ।

उद्योगसम्म पुग्ने दश किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म दश किलोमिटर सडक निर्माण गरिनेछ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले गतवर्ष नै सडक निर्माणका लागि डीपीआर निर्माण गरिसकेको छ । डीपीआर अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्र्भट निर्माण र ग्रावेलसम्मका काम यो वर्ष गरिनेछ । बजेटको स्रोत सुनिश्चितताका लागि फाइल अर्थ मन्त्रालयमा पेस गरिएको निर्देशक आचार्यले बताए । ‘डीपीआरअनुसार सडक निर्माणका लागि एक अर्ब २० करोड लागत अनुमान छ । प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ,’ उनले भने, ‘हामीले १३ करोड बजेटको स्रोत सुनिश्चितताको फाइल अर्थ मन्त्रालयमा पेस गरेका छौँ ।’ अबको तीन/चार दिनमा इआईए स्वीकृति हुने प्रक्रियामा पुगेको भन्दै उनले त्यसपछि मात्र बजेटको स्रोत सुनिश्चितताको फाइल अघि बढ्ने बताए । राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण गर्न लागिएको छ । सडक निर्माण गर्दा तीन हजार तीन सय ३७ रुख कटान गर्नुपर्नेछ ।

संघ र प्रदेश सरकारले उद्योगको पूर्वाधार निर्माण गर्न सहयोग लागेका हुन् । संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत ठूला उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने जनाएका थिए । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाइएको हो । संघीय सरकारले उद्योग सञ्चालनका लागि विद्युत विस्तारको काम अघि बढाएको छ । अहिले विद्युत विस्तार गर्न टेण्डर आह्वान गरिएको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतले विद्युत विस्तारको कामका लागि टेण्डर आह्वान गरेको हो । उद्योगसम्म विद्युत विस्तार गरिनेछ । जसका लागि संघीय सरकारले पाँच करोड बजेट विनियोजन गरेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कुशे यादवले बताए । उनका अनुसार एक महिना अघि टेण्डर आह्वान गरिएको छ ।

यस्तै प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले समेत उद्योग सञ्चालनका लागि सहयोग गरेको छ । मन्त्रालयले त्यहाँको बस्ती र उद्योग सञ्चालनका लागि खानेपानीको योजना अघि बढाएको हो । मन्त्रालय अन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यक्रमको ३० लाख बजेटमा खानेपानीको योजना अघि बढाइएको छ । मन्त्रालयका सचिव नवीनचन्द्र अधिकारीले खानेपानी योजनाको ५० प्रतिशत काम मन्त्रालयले गर्ने बताए ।

आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा काम अघि बढाउन समस्या भएको सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताए । पूर्वाधार अभावकाबीच उद्योगको काम ठप्प भएको उनको भनाइ छ । ‘पछिल्लो समय संघ र प्रदेश सरकारले यस विषयमा चासो दिएको छ । तर काम सुरु गरिएको छैन । काम गर्ने वातावरण बन्यो भने मात्र काम अघि बढाउने योजना छ’ अध्यक्ष तिमिल्सेनाले भने । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको उनले जानकारी दिए ।

 

१४ अर्ब लागत अनुमान

दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । १४ अर्बभन्दा बढी को लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका वडा नं. ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ ।

उद्योग सञ्चालनका काम अघि बढाउने भएसँगै लगानीको खोजी गरिएको कम्पनीका तिमिल्सेनाले बताए । उनले भने, ‘म केही दिनदेखि कर्णाली प्रदेशमै छु । सरकारको काम गति निकै सुस्त छ । कहिले बाटो बन्ने कहिले काम अघि बढाउने ? विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको छ ।’

प्रकाशित मितिः   ८ फाल्गुन २०८०, मंगलवार ०५:०५