राष्ट्रपति रनिङशिल्ड छनौट सुरु

सुर्खेत: कर्णाली प्रदेशस्तरीय १४औँ राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले सोमवार सुर्खेतस्थित निर्माणाधिन प्रदेश रंगशालामा प्रतियोगिताको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेको बताए । साथै दशौँ राष्ट्रिय खेलकुदको पूर्व तयारीको रुपमा यो प्रतियोगितालाई लिइएको बताए । ‘कर्णाली प्रदेश सरकारले खेलाडीले पाउने सेवा सुविधाका बारेमा नयाँ निर्णय गरेको छ, यसले हिजोका दिनभन्दा अहिले खेलाडीहरुलाई केही राहत होला भन्ने आशा लिएको छु’, उनले भने, ‘अबको १०÷१५ वर्षभित्र खेल क्षेत्रमा लागेको खेलाडीले आफ्नो भविष्य खेल क्षेत्रमै देख्ने गरी सरकारले काम गर्नु पर्छ ।’

यस्तै नेकपा (एमाले) कर्णाली प्रदेश सभा संसदीय दल नेता यामलाल कँडेलले कर्णाली प्रदेशसँग भएको सीमित स्रोत साधनबाट भए पनि प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई बन्द प्रशिक्षणम राखेर देशको सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने गरी कर्णाली प्रदेशले तयारी थाल्नु पर्ने बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले अबको दशकमा राष्ट्रिय खेलकुदमा कर्णालीका खेलाडीहरूको बर्चस्व हुने दाबी गरे ।

प्रतियोगितामा कर्णालीका दश वटै जिल्लाका विभिन्न ६ वटा विधाका खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको छ । पालिका हँुदै जिल्लास्तरबाट छनोट भएर आएका खेलाडीहरुको प्रतिस्पर्धाका आधारमा प्रदेशस्तरीय टिम तयार गरिनेछ । प्रतियोगिताको उद्घाटनका अवसरमा उस्सु, कराँते, तेक्वान्दो लगायतका खेलको डेमो देखाउनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेल क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका १० जिल्लाका एक÷एक स्थानीय तहलाई जिल्ला खेलकुद विकास समितिको सिफारिसमा सम्मान गरेको छ । सम्मानित हुने स्थानीय तहहरूमा दैलेख ठाटीकाँध गाउँपालिका, सुर्खेत चौकुने गाउँपालिका, रूकुम पश्चिम सानीभेरी गाउँपालिका, जुम्ला तातोपानी गाउँपालिका, कालीकोट तिलागुफा नगरपालिका, जाजरकोट छेडागाड नगरपालिका, हुम्ला खार्पुनाथ गाउँपालिका, डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका, मुगु सोरु गाउँपालिका र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् ।

प्रकाशित मितिः   ८ फाल्गुन २०८०, मंगलवार १०:३७