‘नागरिकमा प्रजातन्त्रको अनुभूति देखिएन’

सुर्खेत: जहानियाँ राणा शासनको अन्त्य भएपछि देशमा प्रजातन्त्र आएको झण्डै ७३ वर्ष हुन लागेको छ । तर प्रजातन्त्रको अनुभूति गर्न नपाएको नागरिकहरूको गुनासो छ । दैलेखको महावु गाउँपालिकाका भूपेन्द्र खनालले जनताका लागि प्रजातन्त्र कहिले आउँछ ? भन्दै नेतालाई प्रश्न गरेका छन् । कर्णाली उत्सवको ‘लोकतन्त्रः दलभित्र, देशभित्र’ सत्रमा सहभागी वक्ताहरूलाई लक्षित गर्दै सोमवार उनले प्रश्न गरे । उनले नेताका गफले आम नागरिकको जीवन परिवर्तन नहुने भएकाले नीति निर्माण र कार्यक्रम बनाउँदा जनतामुखी बनाउनुपर्ने सुझावसमेत दिए ।

सोही कार्यक्रममा सहभागी वीरेन्द्रनगर पालिकापालिकाका आशिष खनालले प्रतिनिधिसभा सदस्य हृदयराम थानीलाई लक्षित गरी २०५६ देखि हालसम्म जनताको हितमा के गर्नुभयो भनि प्रश्न गरे ? लोकतन्त्र टाँठाबाठाहरूका लागि मात्र बनेको र उनीहरूले नै सेवा उपभोग गरिरहेको उनले बताए । खनालले भने, ‘हामीलाई रूपान्तरण चाहिएको छ । परिवर्तन चाहिएको छ । नेता बदलिए तर नियत बदलिन सकेको छैन ।’

कर्णालीका कैयन् नागरिकहरू अहिले पनि विद्युतको पहुँचबाट टाढा रहेका छन् । बालबालिका विद्यालय बाहिर छन् । सवारी साधनको पहुँचमा छैनन् । विकासबाट टाढा रहेकाले कर्णालीका नागरिकले लोकतन्त्रको अनुभूति गर्न नसकेको गुनासो सहभागीहरूको थियो ।

नागरिक मात्र होइन लोकतन्त्रका लागि लडेकै दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन नसकेकोप्रति नेताहरू नै सन्तुष्ट छैनन् । उक्त सत्रमा वक्ताका रूपमा सहभागी नेताहरूले दलका युवा नेताहरूलाई आन्तरिक लोकतन्त्र व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बताएका छन् । सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य थानीले लोकतन्त्र किताबको पानामा सीमित रहेको बताए । लोकतान्त्रिक मूल्य मान्यता अनुरूप राखिएको समानुपातिक व्यवस्थाको उपयोग गर्नेक्रममै दलहरूले आसेपासेहरूलाई ठाउँ दिन खोजेर सिण्डिकेट लगाएको आरोप लगाए ।

लोकतन्त्रका लागि धेरै पटक लडाइँ लडेको भएपनि देशलाई सही बाटोमा लिन नसकिएको प्रतिनिधि सभा सदस्य थानी बताउँछन् । यो प्रश्न आन्तरिक रूपमा कायम नै रहेको छ । गणतन्त्रपछि भ्रष्टाचारको जालो मौलाएको भन्दै उनले दलहरू पनि सुध्रिनुपर्ने र दलहरू सुध्रिएर अघि बढे लोकतन्त्रको पूर्ण कार्यान्वयन हुने जनाए । राज्य सञ्चालनमा पुगेका दलहरूका कतिपय गतिविधिले जनता आक्रोशित बनेको थानीको टिप्पणी थियो । लोकतन्त्रको प्रत्याभूत गराउन तीन तहका सरकार लागि पर्नुपर्ने समेत बताए । ‘ऐन कानुनबाट नियमन गर्नुपर्ने सामाजिक सञ्जाल टिकटक बन्द गरिन्छ, यसमा लोकतन्त्र कसरी प्रत्याभूत गर्ने ?,’ उनले प्रश्न गरे । सरकार स–साना कुरा अल्झिएर बसेको र अहिलेपनि पर्याप्त कानुन बन्न नसकेको, कर्णालीमा दक्ष जनशक्ति अभाव र पूर्वाधारका कामसमेत ओझेलमा परेको उनको भनाइ छ ।

यस्तै अर्का प्रतिनिधिसभा सदस्य महेश बर्ताैलाले कतिपय दलहरू अहिले पनि लोकतान्त्रिक पद्धतिमा जान नसकेको बताए । उनले संसद्मा दलका प्रतिनिधि जनताबाट अनुमोदित भएजस्तै नेताहरू÷कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने उनको धारणा थियो । दलभित्र लोकतान्त्रिक पद्धति पूर्णरूपमा अवलम्बन गर्न सकिए दलहरू पनि बलियो बन्न सक्ने उनको तर्क छ । लोकतन्त्रको खम्बाका रूपमा रहेका दलहरू जति मजबुत र लोकतान्त्रिक भए त्यति नै मुलुकको लोकतान्त्रिक संस्कार प्रवद्र्धन हुने बर्तौलाले बताए । दलहरूले निर्माण गर्ने विचार उच्च लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित हुनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीले दलहरू आन्तरिक रूपमा लोकतान्त्रिक प्रणाली अपनाउन चुकिरहेको बताएका छन् । यसले युवापुस्ताका नेतामाथि आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गरेर कसरी लैजाने भन्ने चुनौती सिर्जना भएको उनको भनाइ छ ।

कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले लोकतन्त्रका लागि महŒवपूर्ण संघर्ष गरेपनि नियमकानुन कार्यान्वयन गर्न नसक्दा जनताले अनुभूति गर्न नसकेको बताइन् । दलहरूले जनतालाई सार्वभौम हुन् र हामी सार्वभौम जनताका प्रतिनिधि हौँ भन्ने विश्वास गर्न नसकेकाले पनि नागरिक लोकतन्त्रप्रति निराश देखिएको उनको भनाइ छ । जनताका लागि हालसम्म आवश्यक कानुन निर्माण हुन नसकेको खड्काले बताइन् ।

 

बृहत् विमर्शसहित सकियो उत्सव

विविध विषयमा विमर्श गर्दै कर्णाली उत्सवको पाँचौ संस्करण सकिएको छ । शनिवारदेखि सुरु भएको उत्सव तीन दिन सञ्चालन गरेर सोमवार समापन गरिएको हो ।

बुलबुले उद्यानमा भएको उत्सवमा इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, पहुँच र पौरख, हाम्मो कालीः हाम्मै कर्नाली, रहर र कहरसँगसम्बन्धी विविध विषयमा छलफल गरिएको छ । यसका साथै साङ्गीतिक साँझ, गजल महफिल, देडा खेलसमेत समावेश गरिएको थियो । उत्सव आयोजक समितिका संयोजक कमल लम्सालले कर्णालीको सम्भावनाको खोजी गर्न बहसले सहयोग पुु¥याउने विश्वास व्यक्त गरेका छन् । भिन्न–भिन्न विचारले विकासको निचोड निष्कने भएकाले उत्सवको आयोजना गरिएको उनले बताए ।

प्रकाशित मितिः   ८ फाल्गुन २०८०, मंगलवार ०५:०४