बजेटको सुनिश्चितता

बजेट अभावका कारण निर्माणाधिन पुल अलपत्र परेको छ । भेरीगंगा नगरपालिका–२ स्थित छिन्चुखोलामा पक्की पुल निर्माणको काम ठप्प भएको हो । भुक्तानी दिने रकम नभएपछि काम रोकिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । छिन्चुखोलामा ९० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको छ । सडक डिभिजन कार्यालयले २०७९ फागुन १५ गते १७ करोड ७२ लाखमा अञ्जना वाई.एस.एस जेभी काठमाडौसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार २०८२ वैशाख १५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । हालसम्म १२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दुई वटा फाउन्डेशन निर्माण सकिएको कार्यालयका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिए । उनकाअनुसार डेढ महिनादेखि भुक्तानी रकम नपाएपछि निर्माण कम्पनीले काम रोकेको छ ।

निर्माण कम्पनीले सडक डिभिजन कार्यालय सुर्खेतमा दुई करोड २५ लाख ८३ हजारको बिल पेस गरेको छ । तर, हालसम्म एक रूपैयाँसमेत भुक्तानी पाएको छैन । भुक्तानी नपाएपछि अहिले पुल निर्माणको काम नै रोकिएको हो । सरकारले न्यून बजेट विनियोजन गरेका कारण रकम भुक्तानीमा समस्या भएको हो । गतवर्ष पुल निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । यो वर्ष ८९ लाख ३० हजार मात्र छुट्याइएको छ । पर्याप्त बजेट नहुँदा भुक्तानी दिन कठिनाइ भएको सडक डिभिजनले जनाएको छ । कार्यालयकाअनुसार पुल निर्माणको धेरै काम बाँकी नै छ । अझै दुई वटा फाउन्डेशन निर्माण, सव स्टक्चर तथा सुपर स्टक्चरको काम बाँकी छ । तर बजेट अभावका कारण काम अघि बढाउन समस्या भएको हो । पुल निर्माणको काम अघि बढाउनका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको छ । काम नै रोकिने अवस्थामा पुगेपछि अर्थ मन्त्रालयमा थप बजेट माग गरिएको हो । निर्माण कम्पनीले भुक्तानीका लागि मन्त्रालयलाई ताकेता गरिरहेको छ ।

छिन्चुखोलामा निर्माणाधिन पुलका लागि बजेट अभाव भइरहँदा भेरीगंगाकै अर्को स्थानमा भने सम्झौता अवधिमै पुल निर्माण भइसक्दा पनि निर्माण कम्पनीले भुक्तानी पाउन सकेको छैन । भेरीगंगा नगरपालिका वडा नं. ५ को सिरेनी खोलामा २४ मिटर लामो ११ मिटर फराकिलो पुल निर्माण भएको छ । तोकिएकै समयमा पुल सम्पन्न भएको हो । पुल बनेर आउजाउ गर्न स्थानीयलाई सहज भएपनि निर्माण कम्पनीले भने भुक्तानी रकम पाएको छैन । सञ्चालनमा आएका योजनाहरूकै लागि पर्याप्त बजेट विनियोजन नहुँदा यस्ता समस्या निम्तिने गरेका छन् । कुनै पनि आयोजना अघि बढाउँदा बजेटको सुनिश्चितता गर्न जरुरी छ ।

प्रकाशित मितिः   २ फाल्गुन २०८०, बुधबार ०५:०४