विश्वकर्मा एकता समाज गठन

सुर्खेत: कर्णाली प्रदेशस्तरीय विश्वकर्मा एकता समाज गठन गरिएको छ । विश्वकर्मासमुदायको हकहितको संरक्षणका लागि झरसिं सुनारको अध्यक्षतामा ११ सदस्यीय समाज गठन गरिएको हो ।

उपाध्यक्षमा रेसम सेन्चुरी, सचिवमा खड्गबहादुर विक, सह–सचिवमा श्याम बराल, कोषाध्यक्षमा भवानीकुमार विश्वकर्मा चयन भएका छन् । सदस्यहरूमा पवित्रा विश्वकर्मा, फुलमाया विक, प्रेमकली विश्वकर्मा, भिमबहादुर कामी (टमटा), खड्कबहादुर विश्वकर्मा र गगनबहादुर विश्वकर्मा रहेका छन् । विश्वकर्मा एकता समाज सर्वसम्मत रूपमा चयन गरिएको एकता समाजका सचिव खड्गबहादुर विकले जानकारी दिए ।

भेलाबाट निर्वाचित तदर्थ एकता समितिले वर्षाैंदेखि हालसम्म आइपुग्दापनि समुदायहरू राज्यबाट उपेक्षित र अवसरबाट वञ्चित हुँदै आएकाले सविधानले व्यवस्था गरेका अधिकार प्राप्तिका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो समुदाय आर्थिक, समाजिक, राजनैतिक, धार्मिक सांस्कृतिक शैक्षिक क्षेत्रमा पछाडि पारिएकाले सशक्त रूपमा लागि पर्ने प्रतिवद्धता समेत जाहेर गरिएको छ ।

एकता समाजले विधिवत रूपमा वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी प्रदेशभर विश्वकर्मा समाजको सञ्जाल विस्तार गरिने जनाइएको छ । नवगठिन समाजलाई विश्वकर्मा केन्द्रिय महासंघमा आवद्ध गरिनेछ । एकता समाजले कुनैपनि स्वदेशी तथा विदेशी शक्तिको दबाब र प्रभावबाट मुक्त भइ स्वतन्त्र र निष्पक्ष रूपमा सेवा प्रवाह गर्ने जनाइएको छ ।

प्रकाशित मितिः   २ फाल्गुन २०८०, बुधबार ०५:०३