जनशक्तिविहीन स्वास्थ्य सेवा

कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । स्थायी दरबन्दीतर्फ आधाभन्दा पनि कम कर्मचारी मात्रै पदपूर्ति गरिएको छ भने ठूलो संख्यामा दरबन्दी रिक्त रहेका छन् । विशेषज्ञ चिकित्सक नै निकै न्यून छन् । जनशक्ति अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । प्रदेशमा स्वास्थ्य सेवातर्फ नौ सय नौ जना कर्मचारीको दरबन्दी छ । तर त्यसमध्ये हाल तीन सय २७ जनाको मात्रै पदपूर्ति भएको छ, पाँच सय ८२ जनाको स्थायी दरबन्दी रिक्त छ । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको छ । प्रदेशभर झन्डै आठ सयको संख्यामा अस्थायी र करार जनशक्ति भर्ना गरिएको छ । करार दरबन्दीमा दुई सय ५२ जना कार्यरत छन् भने अस्थायी र अन्य करारमा गरेर पाँच सय ४६ जना कर्मचारी छन् ।

कर्णालीका दशमध्ये आठ जिल्लामा जिल्ला अस्पताल छन् । त्यसबाहेक सुर्खेतमा प्रदेश अस्पताल, मेहेलकुना अस्पताल र जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । त्यसो त कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन् । दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ । कर्णालीमा एक सय ४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर एक सय ७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्रै कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन । कूल दरबन्दीमध्ये ३० पद मात्रै पूर्ति भएको छ । यसबाहेक ५३ जना चिकित्सक करार सम्झौतामा कार्यरत छन् । बाँकी ९७ जना छात्रवृत्ति करारअन्तर्गतका हुन् । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको उनले बताए । अस्पतालहरूमा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुनेगरेको छ । प्रदेश अस्पताल सुर्खेतमा समेत चिकित्सकको दरबन्दी रिक्त छ । अस्पतालमा ८० चिकित्सकको दरबन्दी रहेकोमा १८ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । २७ जना करार दरबन्दीमा रहेको जनाइएको छ । ५२ जना छात्रवृत्ति करार र संघसंस्थाबाट खटाएका चिकित्सकसमेत छन् ।

कर्णाली प्रदेशले सुरुवातदेखि नै जनशक्तिको अभाव झेल्दै आएको छ । निजामित सेवाका सबै क्षेत्रमा दरबन्दीअनुसार जनशक्ति पदपूर्ति हुन सकेको छैन । स्वास्थ्य सेवामा पनि पर्याप्त दरबन्दी नै छैन । भएका दरबन्दीमा पनि पदपूर्ति भएको छैन । सम्बन्धित जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा जिल्लामा नै हुनुपर्ने उपचार हुन सकेको छैन । करारको भरमा सेवा सञ्चालन भइरहेको छ । जसले गर्दा स्वास्थ्य सेवा प्रभावित भएको छ । करार जनशक्तिको भरमा स्वास्थ्य सेवा सञ्चालनको अवस्थाका अन्त्य गर्न सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   २८ माघ २०८०, आईतवार ०५:०३