स्थायी दरबन्दीका चिकित्सक ३० जना मात्रै
सुर्खेत: कर्णालीमा एक सय ४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर एक सय ७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्रै कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत वृषबहादुर शाहीले करार चिकित्सकहरूको भरमा विशेषज्ञ सेवा दिनुपर्ने अवस्था रहेको बताए । उनकाअनुसार कूल दरबन्दीमध्ये ३० पद मात्रै पूर्ति भएको छ । यसबाहेक ५३ जना चिकित्सक करार सम्झौतामा कार्यरत छन् । बाँकी ९७ जना छात्रवृत्ति करारअन्तर्गतका हुन् । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको उनले बताए । अस्पतालहरूमा दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुनेगरेको छ ।
प्रदेश अस्पताल सुर्खेतमा समेत चिकित्सकको दरबन्दी रिक्त छ । अस्पतालमा ८० चिकित्सकको दरबन्दी रहेकोमा १८ जना मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । २७ जना करार दरबन्दीमा रहेको जनाइएको छ । ५२ जना छात्रवृत्ति करार र संघसंस्थाबाट खटाएका चिकित्सकसमेत छन् ।
यस्तै, पूर्वी सुर्खेतको मेहेलकुना अस्पतालले समेत चिकित्सक अभाव झेलिरहेको छ । ११ जना चिकित्सकको स्थायी दरबन्दी रहेको अस्पतालमा एक जना मात्र कार्यरत छन् । बाँकी तीन जना करारमा तथा छात्रवृत्ति र संघसंस्थाबाट ६ जना कार्यरत छन् ।
जिल्ला अस्पताल दैलेख पनि आवश्यक चिकित्सकविहीन बनेको छ । १३ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा दुई जना मात्र कार्यरत छन् । अस्पतालमा करार दरबन्दी पाँच जना, छात्रवृत्ति करार र संघसंस्थाबाट तीन जना चिकित्सक छन् । जाजरकोट अस्पतालमा १३ जना चिकित्सकको स्थायी दरबन्दी रहेकोमा एक जना मात्र कार्यरत छन् । करारका चिकित्सकबाट कार्यसम्पादन भइरहेको छ । अस्पतालमा दुई जना करारका चिकित्सक र नौ जना अन्य क्षेत्रबाट कार्यरत छन् ।
सल्यान अस्पतालमा समेत चिकित्सकको दरबन्दी रिक्त छ । अस्पतालमा १३ जनाको स्थायी दरबन्दी हो । हाल एक जना चिकित्सक मात्र स्थायी दरबन्दीमा कार्यरत छन् । छात्रवृत्ति र करार गरी ६ जना अन्य चिकित्सक रहेका छन् । रूकुमपश्चिम अस्पतालमा एक जना स्थायी दरबन्दीका चिकित्सक कार्यरत छन् । अहिले करारकै भरमा जिल्ला अस्पताल धानिएको छ । अस्पतालमा करार दरबन्दीका दुई जना र छात्रवृत्ति तथा संघसंस्थाबाट आठ जना कार्यरत छन् । कालीकोट जिल्ला अस्पतालमा पनि पर्याप्त चिकित्सक छैनन् । नौ जनाको स्थायी दरबन्दी रहेकोमा दुई जना चिकित्सक मात्र कार्यरत रहेका छन् । त्यहाँ तीन जना करार र पाँच जना छात्रवृत्ति तथा संघसंस्थाबाट कार्यरत छन् ।
मुगु जिल्ला अस्पतालमा नौ जना चिकित्सकको दरबन्दी छ । हाल दुई जना चिकित्सक मात्र दरबन्दीमा कार्यरत छन् । पाँच जना करार र दुई जना छात्रवृत्ति करारबाट कार्यरत छन् । डोल्पा जिल्ला अस्पतालमा नौ जना चिकित्सकको दरबन्दी रहेकोमा दुई जना मात्र कार्यरत छन् । अस्पतालमा एक जना करार र तीन जना छात्रवृत्तिका चिकित्सक छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार हुम्ला अस्पतालमा एक जना पनि दरबन्दीका चिकित्सक छैनन् । करार चिकित्सककै भरमा अस्पताल सञ्चालन भइरहेको छ । दुई जना करार र ६ जना छात्रवृत्तिका चिकित्सक कार्यरत छन् ।
स्वास्थ्य जनशक्ति अभाव
प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । स्थायी दरबन्दीतर्फ आधाभन्दा पनि कम कर्मचारी मात्रै पदपूर्ति गरिएको छ भने ठूलो संख्यामा दरबन्दी रिक्त रहेका छन् । विशेषज्ञ चिकित्सक नै निकै न्यून छन् । जनशक्ति अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन ।
प्रदेशमा स्वास्थ्य सेवातर्फ नौ सय नौ जना कर्मचारीको दरबन्दी छ । तर त्यसमध्ये हाल तीन सय २७ जनाको मात्रै पदपूर्ति भएको छ, पाँच सय ८२ जनाको स्थायी दरबन्दी रिक्त छ । दरबन्दीअनुसार पदपूर्ति नहुँदा करार कर्मचारीकै भरमा सेवा प्रवाह भइरहेको छ । प्रदेशभर झन्डै आठ सयको संख्यामा अस्थायी र करार जनशक्ति भर्ना गरिएको छ । करार दरबन्दीमा दुई सय ५२ जना कार्यरत छन् भने अस्थायी र अन्य करारमा गरेर पाँच सय ४६ जना कर्मचारी छन् ।
कर्णालीका दशमध्ये आठ जिल्लामा जिल्ला अस्पताल छन् । त्यसबाहेक सुर्खेतमा प्रदेश अस्पताल, मेहेलकुना अस्पताल र जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । त्यसो त कर्णालीका अधिकांश जिल्ला अस्पतालमा चिकित्सक नै भेटिँदैनन् । दरबन्दीअनुसार सरुवा नहुने र भएका पनि काजमा सुविधायुक्त क्षेत्रमा जाने समस्या छ । प्रदेशमा विशेषज्ञ चिकित्सक अभाव रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउँछन् । उनले भने, ‘सम्बन्धित जिल्लामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या हुने गरेको छ । जिल्लामा नै हुनुपर्ने उपचार हुन सकेको छैन । करारको भरमा सेवा सञ्चालन भइरहेको छ ।’
प्रकाशित मितिः २६ माघ २०८०, शुक्रबार १०:०१
रजनी याेगी ।