बासस्थानको व्यवस्थापन

बुधवार रातिदेखि बिहीवारसम्म वर्षात् भयो । वर्षासँगै हिमाली क्षेत्रमा हिमपात पनि भयो । वर्षा र हिमपातसँगै चिसो बढ्यो । चिसोले यतिबेला भूकम्पपीडितहरूलाई समस्यामा पारेको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते राती गएको भूकम्पका कारण थुप्रै परिवार घरविहीन भए । कैयन्का घर भत्किए भने कैयन्का घर चर्किएर भत्किने अवस्थामा छन् । यसले गर्दा मानिसहरू घर छोडेर त्रिपालमा सरे । केहीले अस्थायी अवास बनाए पनि ठूलो संख्यामा भूकम्प प्रभावितहरू अहिले पनि त्रिपालमै छन् । कर्णाली प्रदेशका जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्पपीडितहरू चिसोको मारमा परेका हुन् । त्रिपालमा बसोबास गरिरहेका भूकम्पपीडित वृद्धवृद्धा, बालबालिका, सुत्केरी र गर्भवतीलाई सास्ती थपिएको छ ।

त्रिपालको बास चिसो समयमा सहज हुँदैन । अस्थायी टहरा गतिला नभएकाले हावापानी छिर्ने र बस्ने ठाउँ ओसिलो भएकाले थप समस्या निम्तिएको छ । सल्यानको दार्मा गाउँपालिकामा मात्रै दुई हजार दुई सय परिवार अस्थायी आवासमा छन् । वर्षात्पछि लेकमा भएको हिमपातले अन्य दिनको तुलनामा धेरै चिसो भएकाले अस्थायी टहरामा बस्न गाह्रो भएको र चिसोका कारण शारीरिक समस्या बढ्दै गएको दमको रोगको सिकार भएको उनीहरू बताउँछन् । अस्थायी टहरामा बस्दै आए पनि चिसोबाट बच्न कठिन भएको र शरीर कटकटी खाने, रुघाखोकी लाग्ने, पेट गडबडी हुने, ज्वरो आउनेजस्ता समस्या बल्झिरहेको छ । पर्याप्त मात्रामा न्याना कपडा नहुँदा पनि झन अप्ठेरो भएको देखिन्छ ।

चिसोकै कारण विगतमा धेरै भूकम्पपीडितले ज्यान समेत गुमाइसके । हिउँद अन्तिमरतिर आइपुगेपनि यो वर्ष पर्याप्त वर्षात् भएको छैन । वर्षात् र हिमपातको सम्भावना अझै छ । त्यसैले आगामी दिन पनि भूकम्प प्रभावितहरूका लागि कष्टकर हुने देखिन्छ । त्यसैले अस्थायी अवास निर्माणको गतिलाई तीव्रता दिनुपर्ने भएको छ । त्रिपालमा बसोबास गरिरहेका नागरिकहरूलाई जतिसक्दो छिटो अस्थायी आवासमा भएपनि सार्न सकिएको खण्डमा चिसो मौसमका कारण हुनसक्ने कष्ट र क्षति न्यूनीकरण गर्न सकिन्छ । भूकम्प प्रभावित बस्तीहरूमा ठूलो संख्यामा बालबालिका, बृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र सुत्केरीहरू छन् । चिसोले उनीहरूलाई स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले भूकम्पले पु¥याएको क्षति बेहोरेर घरविहीन हुन पुगेका नागरिकहरूलाई थप क्षति हुन नदिन सुरक्षित बसोबासको व्यवस्थापनमा तीनै तहका सरकारको तदारुकता अपरिहार्य छ ।

प्रकाशित मितिः   २१ माघ २०८०, आईतवार ०५:०३