एमालेभित्र असन्तुष्टि
अधिवेशन नजिकिँदै जाँदा नेकपा(एमाले) सुर्खेतमा विवाद देखिएको छ । जिल्ला कमिटी बैठकबाट निर्णय गरेर तोकिएको अधिवेशन अध्यक्षले एकलौटी रूपमा स्थगितको घोषणा गरेपछि विवाद निम्तिएको हो । गत पुस २१ र २२ गते अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा बसेको बैठकले नवौं जिल्ला अधिवेशन फागुन ४, ५ र ६ गते गर्ने निर्णय गरेको थियो । त्यसको करिब महिनादिनपछि बुधवार अध्यक्ष बिसीले नै एक विज्ञत्ति जारी गरेर उक्त समयमा अधिवेशन गर्न नसकिने जनाएका छन् । अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । बिहीवार जिल्ला कमिटी सचिव कविन्द्रकुमार केसीले पनि विज्ञप्तिमार्फत अधिवेशन स्थगित नहुने बताएका छन् । अध्यक्षले एकलौटी रूपमा स्थगित घोषणा गर्न नमिल्ने उनको भनाई छ । पछिल्लो घटनाक्रमले एमाले सुर्खेतभित्र विगतदेखि नै बेमेलको अवस्था रहेको देखाउँछ ।
विज्ञप्तिअनुसार अध्यक्ष बिसी विगतदेखि नै असन्तुष्ट रहेको देखिन्छ । उनले संगठनभित्रैबाट सहयोग पाउन नसकेको गुनासो गरेका छन् भने पार्टी सञ्चालनमा अनेक बाधा उत्पन्न भएको जिकिर गरेका छन् । आठौँ जिल्ला अधिवेशनबाट आजसम्म आइपुग्दा पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताएका छन् । पछिल्लो समय पार्टीभित्र संस्थागत गुटबन्दी झाँगिएको, स्थानीय कमिटीहरू संस्थागतरूपमा सञ्चालन हुन नसकेको, जनवर्गीय संगठनहरू प्रभावकारी नभएकोले यस्ता विषयलाई ठोस ढंगले समाधान गरेर मात्रै जिल्ला अधिवेशन गर्नुपर्ने बिसीको तर्क छ । त्यति मात्रै होइन, कमिटीभित्रैबाट आफूमाथि अपमान भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरूलाई बन्धक बनाएर निर्णय गर्न थालियो,’ उनले भनेका छन्, ‘विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तर्घात गरिए, अधिवेशनबाट बाहिरिएका जिम्मेवार कमरेडहरूलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो, केही जिम्मेवारीमा रहेका नेताहरूलले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गयो ।’ उनले आठौँ जिल्ला अधिवेशनपश्चात् आन्तरिक प्रतिस्पर्धालाई व्ययस्थित तथा वैज्ञानिक तवरले सञ्चालन गर्न नसकिएको पनि बताएका छन् । यो क्रम अझ बढी पेचिलो बन्ने उनको भनाइ छ । सदस्यता नवीकरणको समय हुँदाहुँदै दुरदराजका पार्टी सदस्यहरू नवीकरणबाट वञ्चित भएकोले पनि अहिले नै अधिवेशन गर्न उपयुक्त नहुने उनको तर्क छ ।
यसअघि घोषित मितिअनुसार जिल्लामा अधिवेशनको तयारी भने सुरु भइसकेको छ । विषयगत समितिहरूले आफ्ना गतिविधि अघि बढाएका छन् । कार्यतालिकाअनुसार माघ २७ गते प्रतिनिधि चयन हुँदैछन् । सबै वडा र पालिकाबाट प्रतिनिधि चयनका लागि समेत आवश्यक तयारी भइसकेको छ । प्रतिनिधि चयनको सम्मुखमै आएर अधिवेशनको मितिलाई लिएर देखिएको विवादले जिल्लामा गुटगत राजनीति मौलाउँदै गएको प्रष्ट हुन्छ ।
प्रकाशित मितिः १९ माघ २०८०, शुक्रबार ०५:०३
सम्पादकीय ।