कर्णाली एक्स्पो सञ्चालनको बाटो खुल्यो

सुर्खेत: तेस्रो कर्णाली एक्स्पो सञ्चालनको विषयमा देखिएको विवाद निक्र्यौल भएको छ । उच्च अदालत सुर्खेतमा परेको रिटमाथि अदालतबाट परामादेश पाएपछि कर्णाली एक्स्पो आयोजना गर्ने बाटो खुलेको हो ।

उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राईको संयुक्त इजालसले विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको हो । ‘ओम शान्ति मुक्ति इभेन्ट म्यानेजमेन्टको आसयपत्र स्वीकृत भइ कार्यादेशसमेत प्राप्त गरिसकेको अवस्थामा सुविधा र सन्तुलन तथा विपक्षीहरूका तर्फबाट निवेदनसाथ पेस भएको दर्ता रजिष्टरसमेतका आधारमा निवेदन माग बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न मिलेन’ आदेशमा भनिएको छ ।

अदालतको आदेशले कर्णाली एक्स्पो गर्ने बाटो खुलेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेललले बताए । यद्यपि, पूर्वनिर्धारित समयमा भने फेरबदल हुन सक्ने देखिएको छ । महोत्सव केही दिन पछाडी जान सक्ने कँडेलले बताए । ‘यही माघ २६ गतेबाट गर्ने भनिएको कर्णाली एक्स्पो दुई चार दिन पछाडी हुन सक्छ’ उनले भने ।

एक्स्पो सञ्चालनका लागि तयारी भने अन्तिम चरणमा पुगेको छ । कर्णालीको कला तथा संस्कृति झल्किने गरी महोत्सवको आयोजना गरिने सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले जनाए । ‘महोत्सवलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गरिनेछ’ उनले भने, ‘कर्णालीका कला, संस्कृति, यहाँका रैथानेहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’

 

प्रकाशित मितिः   १९ माघ २०८०, शुक्रबार ०५:०१