हिमपातले हर्षित कृषक

 

जुम्ला: कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिउँ पर्न सुरु भएको छ । यसवर्ष माघ महिनाको मध्यसम्म पनि हिउँ नपर्दा चिन्तित किसानहरू अहिले हिउँ पर्न थालेपछि उत्साहित भएका छन् ।

बिहीवार बिहानदेखि जुम्लामा हिउँ पर्न थालेपछि किसान हर्षित भएका हुन् । हिउँ कुरिरहेका कर्णालीका किसान बिहानैदेखि हिउँ पर्दा उत्साहित छन् । स्याउ किसान तिलक रावत भन्छन्, ‘केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनि मात्र बालीनाली सप्रिन्छ, उत्पादन बढ्छ । हिउँदे बाली जौँ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुन्छ ।’

व्यग्र प्रतीक्षापछि हिमपातले कृषि र पर्यटन क्षेत्रलाई राम्रो हुने पर्यटन व्यवसायी सीप बुढा बताउँछन् । ‘हिउँ नपरेर बाली सुक्न थालेको थियो, हिमाल र डाँडाकाँडा सुख्खा र उजाड थिए’ उनले भने, ‘बाली सुक्ने, उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’

हिमपातसँगै बढेको चिसोले कर्णालीको जनजीवन भने प्रभावित भएको छ । महिला बालबालिका, दिर्घरोगी, सडक मानव चिसाले प्रभावित भएका हुन् । चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर नआउन र झोलिला पदार्थ खान चिकित्सकको सुझाव छ ।

कर्णालीका अन्य हिमाली जिल्ला हुम्ला र मुगुमा पनि बिहीवारदेखि हल्का हिमपात र वर्षा सुरु भएको छ । उच्च लेकाली बस्तीतिर हल्का हिमपात र बेसीमा वर्षा भएको हो । मुगुको पर्यटकीय गन्तव्य रारामा आधा इञ्च हिउँ जमेको छ । गत मंसिर दोस्रो साता रारामा आधा इञ्च हिउँ परेको थियो ।

मुर्मा, मुन्दु, माथितुम, चंखेली, बाम, सोभा, घुच्चीलेक क्षेत्रमा पनि हल्का हिमपात भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, किम्री, क्षेत्रमा पनि गए रातिदेखि पनि हल्का हिमपात भएको छ ।

त्यस्तै हुम्लाको सिमकोट बजार क्षेत्रमा पनि हिमपात भएको छ । सिमकोट बजार क्षेत्रमा आधा इञ्चसम्म हिउँ जमेपछि बजार क्षेत्र सेताम्य देखिएको छ । हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रमा मंसिर दोस्रो साता हल्का हिमपात भएको थियो । यो पटक उक्त क्षेत्रमा बाक्लो हिमपात भएको छ । माघ महिनासम्म पनि वर्षा र हिमपात नहुँदा खडेरीको चिन्ताले निरास भएको मुगाली र हुम्ली हिमपात र वर्षा सुरु भएपछि खुसी भएका छन् ।

प्रकाशित मितिः   १९ माघ २०८०, शुक्रबार ०५:०५