बजेट व्यवस्थापन

सघन सहरी विकास कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको छ । साविक कर्णालीका तीन जिल्लाका चार वटा पालिकामा गतवर्षबाट उक्त कार्यक्रम लागू भएको थियो । संघीय सरकारले झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने भन्दै सघन सहरी विकासको योजना बनाएको हो । सोही योजना अनुरूप जुम्लाको चन्दननाथ नगरपालिका, कालीकोटको रास्कोट नगरपालिका र डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकामा कार्यक्रम सुरु भएको छ । आर्थिक वर्ष २०७९/०८० बाट सुरु भएको कार्यक्रम बजेट अभाव हुँदा पूर्वाधार निर्माणका काम अघि बढ्न सकेका छैनन् । बजेट अभाव हुँदा नयाँ ठेक्का सम्झौता गर्न नसकिएको जनाइएको छ । जसका कारण चार वटा पालिकाका गरी एक सयभन्दा बढी पूर्वाधार निर्माणका योजना अन्योलमा छन् ।

गत आर्थिक वर्षबाट जुम्लाको चन्दननाथ नगरपालिकामा सघन सहरी विकासको योजना सुरु भयो । उक्त वर्ष सरकारले १३ करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट कार्यान्वयन भएन । बजेट फ्रिज भयो । अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता समयमा नै नहुँदा बजेट फ्रिज गएको हो । ६ वटा वडाका स–साना टुक्रे सडकका योजनालाई एकै ठाउँमा राखेर काम थालिएको थियो । तर अहिले बजेट अभावले सडक स्तरोन्नति तथा कालोपत्रेको काम अन्योलमा परेको हो । यो वर्ष सरकारले चन्दननाथमा योजना सञ्चालनका लागि तीन करोड बजेट मात्र विनियोजन गरेको छ । यस्तै डोल्पाको ठुलीभेरी नगरपालिका पनि सघन सहरी विकास कार्यक्रममा छनोट भयो । अर्थ मन्त्रालयबाट ढिलागरी बजेटको स्रोत सुनिश्चितता हुँदा गतवर्ष बजेट कार्यान्वयन हुन सकेन । सघन सहरी विकास कार्यक्रमअन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा गत वर्ष आठ करोड बजेट विनियोजन भएकोे थियो । यो वर्ष सरकारले ६ करोड मात्र बजेट विनियोजन गरेको छ । कार्यक्रमअन्तर्गत कालीकोटको रास्कोट नगरपालिकाका गतवर्ष सरकारले आठ करोड बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा उक्त आयोजना निर्माणका लागि बजेट कटौती भएको छ ।

कार्यक्रम कार्यान्वयनमा समस्या भएपछि थप बजेट माग गरिएको छ । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको हो । चार वटा पालिकाको छुट्टाछुट्टै रूपमा बजेट माग गरिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ । योजना बनाउने तर आवश्यकताअनुसार बजेटको सुनिश्चितता नहुँदा पूर्वाधार विकासका कार्यक्रम कार्यान्वयनमा समस्या हुँदै आएको छ । सघन सहरी विकास कार्यक्रम पनि त्यसैको एक उदाहरण हो ।

प्रकाशित मितिः   १८ माघ २०८०, बिहीबार ०५:०३