विभागीय क्लबमाथि कर्णालीको जित

सुर्खेत: प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विभागीय टोलीलाई पराजित गरेको छ । बुधवारको खेलमा कर्णालीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ४४.१ ओभरमा अलआउट हुँदै दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले उक्त लक्ष्य भेट्न सकेन । ४४ ओभरमै अलआउट हुँदा एक सय ८५ रनमात्र बनाउन सक्यो । एपीएफका लागि आसिफ शेखले एक सय आठ रनको योगदान गरे । कर्णालीका बलर प्रकाश जैसीले चार विकेट लिए । दीपेन्द्र रावत र युनिस सिंहले पनि दुई–दुई विकेट हात पारे ।

त्यसअघि कर्णाली प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पारी खेलेका थिए । माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको कर्णाली प्रदेशका लागि चौथो नम्बरका ब्याट्सम्यान हिमांशु शाहीले ६२ रनको योगदान गरे । हिमांशुले अधिकांश रन बाउन्ड्री प्रहारबाट बटुलेका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले ५० बलको सामना गरी सात छक्का र दुई चौका हिर्काएका थिए ।

यस्तै पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुन घर्तीले पनि अर्धशतक बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुनले ७४ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । केवल ३० रनको कूल स्कोरमा तीन विकेट गुमाएको कर्णालीलाई हिमांशु र अर्जुनले एक सय ४१ रनको गतिलो स्थितिसम्म पु¥याएका थिए । कर्णालीका लागि सातौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्र रावतले पनि २७ रनको योगदान गरे । उनले २४ बलमा तीन छक्का र एक चौका प्रहार गरे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रविन्द्र शाही भने २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । रविन्द्रले ३० बलमा एक छक्का र तीन चौका हिर्काए । दिनेश अधिकारीले १९ बलमा चार चौकाको मद्दतले १९ रन बटुले । प्रकाश जैसी १० रन बनाउँदै आउट भए । पेभेलियन फर्किनुअघि ओपनर निश्चल रावलले १२ बलमा एक चौकाको मद्दतले ६ रन बनाएका थिए । कर्णाली प्रदेशले अतिरिक्त रूपमा भने केवल एक रन पाएको थियो ।

एपीएफ क्लबका बलर मौसम ढकालले तीन विकेट लिए । उनले नौ ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएका थिए । अमर रौतेलाले पनि दुई विकेट हात पारे । भुवन कार्की र रमेश कुर्मीले पनि एक–एक विकेट लिए ।

कर्णाली यसअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको थियो भने, बुधवार कर्णालीसँग पराजित भएपछि एपीएफ पनि बाहिरिएको छ । नौ खेल खेल्दा कर्णालीले चारमा जित र पाँचमा हार बेहोरेको छ । एपीएफ क्लबले पाँच जित र चार हारको नतिजा निकाल्यो ।

 

प्रकाशित मितिः   १८ माघ २०८०, बिहीबार ०५:०२