मुगुमा इन्फ्लुएन्जा पुष्टि

मुगु: जिल्लामा फैलिएको ज्वरो भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । परीक्षण गराइएका स्वाबमध्ये एक जनालाई कोभिड तथा १९ जनालाई भाइरल इन्फ्लुएन्जा–ए र अर्का एक जनालाई इन्फ्लुएन्जा–बी पुष्टि भएको हो । अन्य सात जनालाई भाइरल इन्फ्लुएन्जा देखिएको छ ।

सोरु गाउँपालिकाको पुरुमुरु र जिमा गाउँमा केही दिनदेखि भाइरल ज्वरो फैलिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर कमल ढुंगानाले गाउँ फैलिएको ज्वरो भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको बताए । रोग परीक्षणको लागि बिरामीको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकु काठमाडौं पठाइएको थियो ।

एक साताअघि सोरु गाउँपालिकाको पुरुमुरु र जिमा गाउँमा ज्वरोले एक सय ५० जना थला परेको र एउटै पुरुमुरु गाउँमा तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । गाउँमा फैलिएको ज्वरो नियन्त्रणको लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँमै खटाइएको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।

उक्त भाइरल इन्फ्लुएन्जा नियन्त्रण तथा थप रोग अनुसन्धानको लागि बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रोग नियन्त्रण महाशाखाबाट तीन जना र विश्व स्वास्थ्य संगठन सुर्खेत शाखाबाट एक जना गरी चार जनाको टोली रोग प्रभावित बस्तीमा खटिएको छ ।

प्रकाशित मितिः   १८ माघ २०८०, बिहीबार ०५:०१