एमाले सुर्खेतमा ‘अधिवेशन विवाद’

अध्यक्षद्वारा पूर्वनिर्धारित अधिवेशन स्थगितको घोषणा, भन्छन्, ‘ममाथि अपमान भयो ।’
गत पुसमा बसेको एमाले जिल्ला कमिटी सुर्खेतको बैठक

सुर्खेत: अधिवेशन नजिकिँदै जाँदा नेकपा(एमाले) सुर्खेतमा विवाद देखिएको छ । जिल्ला कमिटी बैठकबाट निर्णय गरेर तोकिएको अधिवेशन अध्यक्षले एकलौटी रूपमा स्थगितको घोषणा गरेपछि विवाद निम्तिएको हो ।

गत पुस २१ गते अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा बसेको बैठकले नवौं जिल्ला अधिवेशन फागुन ४, ५ र ६ गते गर्ने निर्णय गरेको थियो । त्यसको करिब महिनादिनपछि अध्यक्ष बिसीले नै एक विज्ञत्ति जारी गरेर उक्त समयमा अधिवेशन गर्न नसकिने जनाएका छन् । अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार अध्यक्ष बिसी विगतदेखि नै असन्तुष्ट रहेको देखिन्छ । उनले संगठनभित्रैबाट सहयोग पाउन नसकेको गुनासो गरेका छन् भने पार्टी सञ्चालनमा अनेक बाधा उत्पन्न भएको जिकिर गरेका छन् । आठौँ जिल्ला अधिवेशनबाट आजसम्म आइपुग्दा पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताएका छन् । पछिल्लो समय पार्टीभित्र संस्थागत गुटबन्दी झाँगिएको, स्थानीय कमिटीहरू संस्थागतरूपमा सञ्चालन हुन नसकेको, जनवर्गीय संगठनहरू प्रभावकारी नभएकोले यस्ता विषयलाई ठोस ढंगले समाधान गरेर मात्रै जिल्ला अधिवेशन गर्नुपर्ने बिसीको तर्क छ ।

त्यति मात्रै होइन, कमिटीभित्रैबाट आफूमाथि अपमान भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरूलाई बन्धक बनाएर निर्णय गर्न थालियो,’ उनले भनेका छन्, ‘विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तर्घात गरिए, अधिवेशनबाट बाहिरिएका जिम्मेवार कमरेडहरूलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो, केही जिम्मेवारीमा रहेका नेताहरूलले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गयो ।’
एमालेको प्रथम कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा असहजता, झुलाघाट–चिवाभन्ज्याङ्ग, समृद्धिको संकल्प यात्रा अभियान अन्तर्गत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उल्लंघन गर्दै प्रस्तुत हुनुजस्ता समस्याहरूको ठोस निराकरण नगरी गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि नहुने अध्यक्ष बिसीले बताएका छन् ।

 

उनले आठौँ जिल्ला अधिवेशनपश्चात् आन्तरिक प्रतिस्पर्धालाई व्ययस्थित तथा वैज्ञानिक तवरले सञ्चालन गर्न नसकिएको पनि बताएका छन् । यो क्रम अझ बढी पेचिलो बन्ने उनको भनाइ छ । सदस्यता नवीकरणको समय हुँदाहुँदै दुरदराजका पार्टी सदस्यहरू नवीकरणबाट वञ्चित भएकोले पनि अहिले नै अधिवेशन गर्न उपयुक्त नहुने उनको तर्क छ ।

अन्य पदाधिकारीहरूलाई समेत जानकारी नदिएर अध्यक्षले एकलौटी रूपमा अधिवेशन स्थगितको घोषणा गरेका हुन् । जिल्ला कमिटीका उपसचिव घनश्याम पाण्डेका अनुसार अधिवेशन तयारीका सन्दर्भमा छलफल गर्न शुक्रवार अध्यक्षसहितकै सचिवालय बैठक बस्ने तयारी भएको थियो । तर त्यसको दुई दिनअघि नै अध्यक्ष बिसीले अधिवेशन स्थगितको घोषणा गरेका हुन् ।

अध्यक्षको विज्ञप्ति आइसकेपछि शुक्रवार बस्ने भनिएको सचिवालय बैठक आज (बिहीवार) बिहान बोलाइएको छ । पदाधिकारी सहित उपलब्ध सचिवालय सदस्यहरूको बैठक बस्ने तयारी गरिएको र सोही बैठकले अब के गर्ने भन्ने विषयमा छलफल गर्ने उपसचिव पाण्डेले जनाए । ‘अधिवेशनको मिति तय वा स्थगितको निर्णय पार्टी कमिटिले गर्ने हो’ पाण्डेले भने, ‘अन्य पदाधिकारीसँग समेत छलफल नगरेर अध्यक्षले स्थगित विज्ञप्ति जारी गर्नुभएकोछ । यो विधानविपरित कार्य हो ।’

यसअघि घोषित मितिअनुसार जिल्लामा अधिवेशनको तयारी सुरु भइसकेको छ । विषयगत समितिहरूले आफ्ना गतिविधि अघि बढाएका छन् । कार्यतालिकाअनुसार माघ २७ गते प्रतिनिधि चयन हुँदैछन् । सबै वडा र पालिकाबाट प्रतिनिधि चयनका लागि समेत आवश्यक तयारी भइसकेको जिल्ला कमिटिले जनाएको छ ।

खुलासहितका अन्य प्रतिनिधि वडास्तरीय भेलाबाट छनोट गरिनेछ भने समावेशी दलित प्रतिनिधि भने पालिकास्तरीय भेलाद्वारा छनोट हुने जनाइएको छ । प्रतिनिधि छनोट मापदण्डअनुसार अन्यका लागि ४० जना सदस्य बराबर एक जना प्रतिनिधि छानिनेछन् । समावेशी दलिततर्फ ३० जना सदस्य बराबर एकजना प्रतिनिधि हुनेछन् । यसरी जिल्लाभरबाट करिब पाँच सय जना प्रतिनिधि अधिवेशनका लागि चयन हुने जनाइएको छ ।

प्रकाशित मितिः   १८ माघ २०८०, बिहीबार ०५:०५