स्वीकृतिको पर्खाइ

कर्णाली प्रदेशको जलविद्युत उत्पादन क्षमता र सम्भावना अब नयाँ विषय रहेन । तर भएको प्रचुर सम्भावनाको उपयोग हुन भने सकेको छैन । विद्युत उत्पादनका लागि प्रयास नै नभएका पनि होइनन्, यद्यपि आयोजनाहरू निर्माणमा ढिलाइ हुँदै आएको छ । कैयन् योजना अध्ययन मात्रै भएर रोकिएका छन्, केही योजना निर्माणको चरणमा पुगेर पनि अलपत्र परेका छन् । यसरी अनेक कारण कर्णालीको जलस्रोतको उपयोग र विद्युत उत्पादनको लाभ लिन सकिरहेको छैन । बरु अहिले पनि प्रदेशको ठूलो हिस्सा विद्युतविहीन अवस्थामा छ ।

अधिकांश आयोजनाहरूले अपेक्षित गति लिन नसकिरहेको बेला केही योजना भने धमाधम अघि बढेका छन् । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण पूर्वका काम पनि धमाधम भइरहेका छन् । कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाटको आयोजना निर्माण पूर्वका विभिन्न चरणका काम भइरहेका हुन् । २०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागले अनुमति दिएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सन् २०२२ मै डीपीआरको काम सकिएको थियो । विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनीको संयुक्त लगानीमा आयोजना निर्माण हुनेछ । आयोजना निर्माणका लागि पूर्वतयारी धमाधम अगाडि बढेको हो । हालसम्म एक हजार तीन सय रोपनी जग्गा अधिग्रहण भइसकेको छ । जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट प्रभावित हुने चार सय ८० घरपरिवारलाई क्षतिपूर्ति वितरण प्रक्रिया सुरु भएको जनाइएको छ । मुआब्जा वितरणको ९५ प्रतिशत काम सकिएको छ । कालीकोटको पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका गरी चार सय ८० घर आयोजनाबाट प्रभावित हुनेछन् । चार सय ८० घरपरिवारलाई १३ करोड ६५ लाख वितरण गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना प्रकाशित गरेर वितरण गर्नेछ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत हुने चरणमा छ । स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले फाइल अन्तिम चरणमा पु¥याएको छ । त्यसैगरी आयोजनाको जेनेरेसन लाइसेन्स उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा निवेदन पेस गरिएको छ । गत साउनमा विभागमा निवेदन पेस गरिएको हो । पाँच वर्ष निर्माणको समयावधि तोकिएको यो आयोजनाको समय गणना भने जेनेरेसन लाइसेन्स पाएको मितिबाट सुरु हुनेछ । अन्य बाधा उत्पन्न नभएमा आयोजना निर्माण नियमित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १५ माघ २०८०, सोमबार ०५:०३