चार वटा नयाँ ठेक्का सम्झौता
सुर्खेत: राकम कर्णाली नयाँ सहर आयोजना अन्तर्गत पूर्वाधार निर्माणका काम भइरहेका छन् । चालु आर्थिक वर्षमा चार वटा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । दुई वटा यात्रु प्रतिक्षालय र तीन वटा मलामी विश्राम कक्षको निर्माण कार्य सुरु भएको हो । गत कार्तिक १४ गते सफल निर्माण सेवा कालीकोटले पाँच वटा भवन निर्माणको जिम्मा लिएको छ । २०८१ वैशाख १४ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी ५१ लाखमा ठेक्का सम्झौता गरिएको आयोजनाले जनाएको छ ।
यसैगरी शाहीखोलादेखि सुडाकाँधसम्म सात सय मिटर सडक स्तरोन्नतिका लागि नयाँ ठेक्का सम्झौता भएको छ । सफल निर्माण सेवाले नै उक्त निर्माणको जिम्मा लिएको छ । उक्त योजनाको समेत एक वर्षको कार्य अवधि रहेको जनाइएको छ । गत कार्तिक १४ गते सम्झौता भइ २०८१ वैशाखसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ५२ लाखमा उक्त योजनाको सम्झौता भएको हो ।
यस्तै, सार्वजनिक मञ्च निर्माणका लागि पनि ठेक्का सम्झौता भइ काम सुरु गरिएको छ । बिनिता एण्ड दिपाशा निर्माण सेवा सुर्खेतले आयोजनासँग कामको सम्झौता गरेको हो । गत कार्तिक १४ गतेदेखि २०८१ वैशाखसम्म कामसक्नेगरी सम्झौता गरिएको छ । मञ्च निर्माणका लागि २७ लाखमा ठेक्का सम्झौता गरिएको आयोजनाले जनाएको छ ।
शाहीखोलामा चार सय मिटर कुलो निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ । कुलो निर्माणको काम धमाधम अघि बढेको छ । डाइमन्ट निर्माण सेवा कालीकोटले कुलो निर्माणको जिम्मा पाएको छ । २७ लाखमा एक वर्षमा काम सक्नेगरी निर्माणको जिम्मा लिएको हो । उक्त निर्माणको कामपनि २०८१ वैशाखमा सम्पन्न गर्नुपर्नेछ ।
एक वर्षमा काम सम्पन्न गर्नका लागि चार वटा ठेक्का सम्झौता गरिएको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा चार वटा योजनाको ठेक्का सम्झौता र तीन वटा योजनाको ठेक्का आह्वान गरिएको राकम कर्णाली नयाँ सहर आयोजनाका इन्जिनियर प्रवेशराज लामिछानेले जानकारी दिए । उनका अनुसार तीन वटा योजनाको गत माघ ७ गते ठेक्का आह्वान गरिएको छ । निमायलदेखि हुलाकडाँडासम्म एक हजार तीन सय मिटर सडक स्तरोन्नति, नयाँ सहर आयोजनाको भवन निर्माण र निमायलमा सामुदायिक भवन निर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।
निर्माणका काम निरन्तर
नयाँ सहर आयोजनाअन्र्तगत पूर्वाधार निर्माणका काम भइरहेका छन् । खानेपानीतर्फ धारा निर्माण, पाइपलाइन विस्तार गर्ने, धारा जडानलगायतका काम भइरहेको आयोजनाले जनाएको छ । सडक निर्माणतर्फ विभिन्न खण्डमा ६ किलोमिटर सडक निर्माणको काम धमाधम रूपमा भइरहेको छ । सामुदायिक भवन निर्माण, कर्णाली नदीको तटबन्ध निर्माणका काम अघि बढेका छन् । यस्तै, जग्गा एकीकरणको काम पनि अगाडि बढेको छ । एक सय ३७ रोपनी जग्गा एकीकरण गरेर स्थानीयलाई फिर्ता गरिने जनाइएको छ ।
अहिलेसम्म सडक सोलार बत्ती, मसानघाटमा प्रतीक्षालय, तीन सय पाँच मिटर सडक कालोपत्रे, सिगौडीको कुमालखाडादेखि निमायलसम्म कच्ची सडक, कर्णाली राजमार्ग छेउमा चार वटा यात्रु प्रतीक्षालय सम्पन्न भएको आयोजनाले जनाएको छ । यसैगरी ठूला तीन वटा खानेपानीका योजना सम्पन्न भएका छन् । ३५ वटा धारा निर्माण भएर स्थानीयले उपभोग गरिरहेका छन् । पहिलो चरणमा शाहीखोलादेखि सुडाकाँधसम्म एक हजार दुई सय मिटर सडक ग्राभेल गरिएको छ ।
बजेट अभाव
बजेट अभावले आयोजनाले सोचेअनुसारको लक्ष्य हासिल गर्न सकेको छैन । आयोजना सुरु भएको १२ वर्ष पूरा भएपनि अझै प्रभावकारी काम हुन नसकेको हो । हरेक वर्ष बजेट विनियोजन गरिए पनि बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चितता नहुँदा आयोजनाले निर्माणको लक्ष्य हासिल गर्न नसकेको हो ।
पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/०६८ मा सरकारले ल्याएको योजनाअन्तर्गत राकममा नयाँ सहर निर्माण थालिएको हो । एक लाख जनसंख्या बसोबास गराउन आवश्यक सम्पूर्ण पूर्वाधारसहित योजनाबद्ध सहरीकरण गरी व्यवस्थित सेवा केन्द्र, कृषि, शैक्षिक, पर्यटन तथा अन्य सेवाहरूको विकास गर्न सरकाले योजना अघि सारेको थियो । २०६८ सालदेखि कार्यालय स्थापना गरेर काम सुरु भएको छ । तर अहिलेसम्म लक्ष्यअनुसारको काम हुन सकेको छैन । जग्गा विवाद र बजेट अभावका कारण भनेजति काम हुन नसकेको जनाइएको छ ।
सरकारले नयाँ सहर परियोजना निर्माणका लागि बजेट पनि न्यून विनियोजन गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १८ करोड पुँजीगत बजेट विनियोजन भएको थियो । उक्त बजेट आयोजना निर्माणका लागि पर्याप्त भएन । चालु आर्थिक वर्षमा सरकारले बजेट कटौती गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा १३ करोड पुँजीगत बजेट छुट्याएको छ । बजेट न्यून हुँदा काम गर्न समस्या हुनेगरेको राकम कर्णाली नयाँ सहर आयोजनाका इन्जिनियर लामिछानेले बताए । उनका अनुसार एउटै योजना निर्माण गर्नका लागि १९ करोड आवश्यकता पर्ने गरेको छ । ‘बजेट कम हुँदा योजना कार्यान्वयनमा समस्या हुनेगरेको छ । अहिलेसम्म स–साना योजना मात्र सम्पन्न भएका छन्’ लामिछानेले भने ।
राकम कर्णालीमा नयाँ सहर बनाउन लागि २० वर्षे योजना निर्माण गरिएको छ । कर्णाली नदी किनारमा आधुनिक सहर (स्मार्ट सिटी) निर्माण योजनाको अवधारणा ल्याइएको हो । आयोजना सम्पन्न गर्न १९ अर्ब ८२ करोड ९४ लाख लाग्ने लागत अनुमान छ । पछिल्लो ६ वर्षमा मात्र आयोजना निर्माणका लागि २६ करोड २८ लाख पुँजीगत खर्च भएको देखिन्छ । चालु आर्थिक वर्षमा एक करोड बजेट खर्च भएको छ ।
प्रकाशित मितिः १५ माघ २०८०, सोमबार ११:२८
रजनी याेगी ।