राजनीतिको सत्ता यात्रा

‘३२ सिटको माओवादी पार्टीले सरकारको नेतृत्व गरेको एकथरीलाई पटक्कै मन परेको छैन…।’ माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक सार्वजनिक रूपमा दिइरहने अभिव्यक्ति हो यो । एकथरिलाई मात्र होइन थरी–थरी नेपालीलाई यो नेतृत्व र सरकार मन परिरहेको छैन, किनकि यो जनताको अभिमत नै होइन । चुनावी परिणाम बमोजिम कांग्रेस र एमाले पार्टीबाट संयुक्त सरकार निर्माण हुनुपर्नेमा, धोका चालबाज र छलकपटको सहाराले ३२ सिटले नेतृत्व फुत्काउनु देश र जनताको लागि विडम्बना बाहेक अरु केही होइन ।

लोकलाज र नैतिकताको कुरा पर सारौँ आफ्नै पार्टी नेता कार्यकर्ताको पनि पटक्कै संकोच नमानी प्रधानमन्त्रीले छोरी–बुहारी, ज्वाईं–सम्धी र नातागोतालाई सरकारी पदमा व्यवस्थापन गर्न ज्यादा ध्यान दिए । सरकारको काम कारबाही र गतिविधिबाट जनतामा निराशा छाएको छ, चरम वितृष्णा छ । त्यसकारण सरकारविरुद्ध आन्दोलनको सानो झिल्कोमा पनि जनताले मन फुकाएर जाँगर झिकिरहेका छन । विवादित छवि भनिएका दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलनमा जनताले सक्रियता देखाउनु यसको ज्वलन्त उदाहरण हो ।

भाषा, व्याख्या र विश्लेषणबाट जेसुकै भने पनि कांग्रेस र एमालेलाई मिल्न नदिन र विकल्पमा कसैले सरकार निर्माण गर्न खोजे स्वयम् आफू निर्णायक हुनका लागि, लोभ र लालचले व्याकुल पार्टीलाई मिलाएर दाहालले समाजवादी मोर्चा गठन गर्न भ्याए । गणितीय हिसाबले संसद्मा तेस्रो ठूलो दल देखिन गयो समाजवादी मोर्चा । मोर्चाको भ¥याङ चढेर फेरि फेरि सत्तामा जानका लागि नेतृत्वमा रहने प्रपञ्च मिलाए दाहालले । आफ्नो सत्ता यात्रालाई टिकाइराख्न जेलमा थुनिएका कैदीसँग प्रत्यक्ष भेटेर बात मारेका मात्र होइनन् माफी मिनाहा दिएर जेलमुक्त गर्ने प्रपञ्च पनि मिलाए । राजनीतिक विश्लेषक मुमाराम खनालका अनुसार दाहाल पदबाहेक अलग बस्न सक्दैनन्, पदका लागि जस्तोसुकै हर्कत गर्न हिचकिकाउँदैनन् र पार्टीमा आफ्नो विरोध गर्ने जोसुकैलाई ठेगान लगाउन पनि पछि पर्दैनन् त्यसकारण विगत ३५ वर्षभन्दा लामो समयबाट निरन्तर पार्टी अध्यक्ष छन् ।

देशमा संविधान घोषणा भएदेखि यताको गतिविधि निहाल्दा पदका लागि उनको नियत र आशक्ती निकै उतारचढाव छ । केपी ओलीले भद्रसहमति तोडेको अर्थात् प्रधानमन्त्री हुने पालो नदिएको भनी कांग्रेसको बुइ चढेर प्रधानमन्त्रीको पद जिप्ट्याए । कांग्रेसको बलियो साथ हुँदाहुँदै पनि स्थानीय निर्वाचनमा जनताले सुम्ल्याए पछि फेरि सातो गएर छोरीका लागि मतपत्र नच्याती नहुने भयो । त्यो लाज सरम पचाउन र बदनाम बोक्न पार्टीलाई विवश बनाइयो । पार्टीभित्र यो गलत कामको विरोध गर्ने ताकत कुनै नेतासँग थिएन । विरोध गर्ने सामथ्र्यका निष्ठावान नेता कार्यकर्ताले त्यो पार्टी लात मारिसकेका थिए । विरोध नगर्ने निरीह नेता कार्यहरूकर्ता दाहालको बोलिमा लोलि मिलाएर भजन गाउँदै उनको परिवारवादमा समाहित भैरहेका थिए । स्थानीय निर्वाचनमा परिणाम बेहाल भएपछि उनी फेरि बाम तालमेल र एकीकरणको मन्त्र जपेर एमालेका अध्यक्ष केपी ओलीकै शरणमा पुगे । आमनिर्वाचनको उम्मेदवारीमा ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी भाग बण्डा गर्ने सहमति भयो । मत परिणाममा एमाले १२१ र माओवादी ५३ सांसद विजयी भएपछि आलोपालो प्रधानमन्त्री हुने भनी भित्री गोप्य तमसुक गरिएको थियो,यो पनि हेक्कामा राखिनुपर्छ ।

‘अब यो देशमा कांग्रेसले २० वर्ष सत्ता बाहिर बस्नुपर्छ’ एकीकरणका नामबाट पार्टीलाई एमालेमा मिसाएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी बनाएपछि दाहाललाई एकाएक मात चढेर सार्वजनिक रूपमा आएको अभिव्यक्ति थियो त्यो । त्यसो त उनले ‘कांग्रेस र एमाले फरक पार्टी हुन् भन्ने भ्रम कसैले नपाल्नु, एमालेलाई कांग्रेसमा मिलाइदिए हुन्छ ..।’ भन्ने ढंगका अभिव्यक्ति पहिला पनि नदिने गरेका होइनन् । यस्ता विरोधाभास अभिव्यक्ति पनि बराबर दिइरहने र मौका खोजेर निर्लज्जा पूर्वक तिनै पार्टीको शरण पर्ने दोहोर चरीत्रले उनको पार्टी कमजोर भएको मात्र छैन व्ययक्तिक जीवनको वजन पनि घट्दै गइरहेको छ । जनतालाई छलेर आलोपालो प्रधानमन्त्री नभइ नहुने गलत परम्परा जो स्थापित गर्न खोजिएको छ, अर्थात प्रधानमन्त्री जस्तो गरिमामय पदलाई लेनदेनको विषय जो बनाउन खोजिएको छ वास्तवमा देशको लागि ठूलो यो एउटा अभिशाप हो ।

एउटा संस्थामा दुईवटा अध्यक्ष भएको दुनियाँमा घोर आश्चर्य–जनक पार्टी थियोे एकीकृत कम्युनिष्ट पार्टी नेपाल । कारण तमाम भएपनि मुलकारण भित्री तमसुक बमोजिम आलोपालो प्रधानमन्त्री दिनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले खास जाँगर नदेखाएपछि बिच्किएका हुन अर्का अध्यक्ष दाहाल । कांग्रेस सभापति शेरबहादुर देउवाको सेवा शुश्रूषामा निकै जुटेर गठबन्धनको सुत्रधार पनि भए । चुनावी परिणामले कांग्रेसलाई पहिलो पार्टी दर्ज गरिदिएपछि दाहाललाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाइहाल्न देउवाले आनाकानी गर्दैगर्दा फेरि ऊनी ओलीको बार्दलीमा शरण परे । आफ्नो दुषित अडान फोस्रो रवाफ र दम्भलाई आफैले चिसोपानी खन्याउँदै टाइ शुट फालेर दौरा सुरुवालमा ठाँटिदै प्रधानमन्त्रीको शपथ लिए दाहालले । आदर्श सिद्धान्त र नैतिकतालाई तिलाञ्जली दिएर पद्का लागि यसरी तीब्र गतिमा चलिरहेको छ, उनको विचलन । उनले कहिले पद मेरो लागि ठूलो होइन भन्छन् त कहिले दुई ठूला पार्टी हुँदाहुँदै ३२ सिटको पार्टीले सत्ता सञ्चालन गर्नुपर्ने बाध्यता आयो पनि भन्न पछि पर्दैनन् । उनको कुरा पत्याइदिनै पर्छ भन्ने ढंगबाट उनले आफ्ना कार्यकर्तालाई ढाँटिरहेका छन की जनतालाई ऊनी आफै जानून । यस्तो लाग्छ मानौं झुठ छलकपट र बेइमानीको सहारा बाहेक अब उनको राजनीति माथि उठ्न सक्दैन ।

पुष्पकमल दाहालले सत्ताको बागडोर समाएपछि देशमा तमासा निर्माण भैरहेको छ । कामभन्दा धेरै निर्देशन दिन जानेका प्रधानमन्त्री दाहालले यो कार्यकालमा राम्रो बाहेक नराम्रो केही नगर्ने र देशले चीरकालसम्म सम्झन लायकको छाप छोड्ने भनी डिङ हाकेका थिए । ललिता निवास जग्गा काण्डमा गठबन्धनका शीर्ष नेता तानिने भएपछि र सुन काण्डमा पार्टी भित्रकै आफ्ना मान्छे पर्ने भए पछि कसैको दकस नमानि सरकारले नै जोगाएको जनताले प्रत्यक्ष देखे । हामी लडेर ल्याएको यो व्यवस्थामा मजाले बोल्न पाइन्छ भन्दाभन्दै कोरिया जान खोजेका दुई युवालाई बोल्न खोज्दा मारियो । त्यसको नैतिक जिम्मेवारी कसैले लिएन र प्रतिपक्षले पनि तातोवाफ फालेन । कानुनको नजरमा सबै बराबर भने पनि सरकारले साना अपराधीलाई समाएर ठूला अपराधीलाई जोगाइरहेको छ । अदालतले पक्राउ गर्न आदेश दिएका व्यक्ति हरूलाई थुन्नु त कता हो कता बात लागेका त्यस्ता व्यक्तिमध्ये कसैसँग प्रधानमन्त्रीले कुम जोडेर चिया खाइरहेका छन् भने कसैलाई लुकाउने प्रपन्च गरिरहेका छन् । एउटै अपराधमा संलग्न कोही थुनामा छन् भने कोही संसद्मै कुर्लिरहेका छन् ।

निष्पक्ष न्याय दिन नसक्दा सरकार जनताको हुन सकिरहेको छैन, त्यसकारण कथनी र करनीमा फरक पर्दै गएको छ । जनताले प्रत्यक्ष रूपमा महशुस गर्नसक्ने कुनै गतिलो काम गर्न नसकेका दाहालले आफ्नी छोरी गंगा दाहाललाई स्वकीय सचिव बनाएर देश देशावर घुमाए भने जुक्ति निकालेर ज्वाईंलाई प्रदेश सरकारको मन्त्री समेत बनाइदिए । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल प्रकरणमा प्रधानमन्त्री कि छोरीको नाम जोडिदा छानबिन समिति बनाएर झाराटार्ने काम मात्रै गरिएन आरोप लगाउने सांसद डा. अमरेशकुमार सिंहका विरुद्धमा सचिवालयले एउटा प्रेसविज्ञप्ति पनि जारी ग¥यो तर कानुनबमोजिम सिंहलाई कारबाही गर्ने हुति राखेन । उनले पटकपटक अवसर पाउँदा पाउँदै पनि माओवादी पार्टी दिनप्रतिदिन ओरालो लागिरहेको छ । त्यो आभासले ऊनी छटपटाउँछन कहिले पार्टी रूपान्तरण भन्छन् कहिले जनतासँग माओवादी भन्छन् र कार्यकर्तालाई कुचो आँसी बन्चरो कोदालो समाउन लगाउँछन् । अनेकन गतिविधि गर्छन् तर आफ्नो चरीत्र सुधार्दैनन् र पार्टीलाई पनि आफ्नो दैलाबाट बाहिर निकाल्न मान्दैनन् ।

सरकारको तमाम यस्ता पक्षपाती गतिविधिले जनतामा निराशा छाएको छ । प्रधानमन्त्रीको भाषणबाजीले यो निराशा हट्दैन बरु वितृष्णा थपिदै जान्छ । दाहालले संघीयताको जतिसुकै गुणगान गाए पनि विश्वास मान्ने आधार कुनै छैन । आफ्ना दोस्रा तहका नेता तथा कार्यकर्तालाई व्यवस्थापन गर्नका लागि पनि संघीयताको निर्माण गरिएको हो भन्ने सत्यतालाई कपट र जालसाजले ढाकेर प्रदेश विकासकामा आत्मनिर्णयको सम्मान भन्ने भाष्य लादिएको छ । यसै घडी राष्ट्रिय सभा निर्वाचनमा देशका चर्चित मेयर बालेन शाह हर्क साम्पाङ र गोपी हमालले मतदान नगर्दा जनतामा सकारात्मक सन्देश गएको छ र भोलि समयले यसको पनि सहि मूल्यांकन गर्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा कि पत्नी आरजु देउवा यही माघ ८ गते बालकोटमा पुगि एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि दाहाल निकै झस्केका छन् । सत्तामा संकटको बादल मात्र मडारिएको छैन, बागडोर समाएर हाँकेका प्रधानमन्त्री दाहालको छट्पटीमा किनाराकृत हुनुपर्छ कि भन्ने त्रास पनि थपिन थालेको छ । त्यसो त सत्ताभित्र र बाहिरका केही राजनीतिक पार्टीहरूले सरकारको कुशासन र अराजकता विरुद्ध कडा आन्दोलन गर्ने उद्घोष गरिसकेका छन् । तमाम यस्ता कारणले आगामी दिनमा दाहालका लागि सत्ता यात्रा सुखद हुन नसक्ने सम्भावना बलियो हुँदै गएको देखिन्छ ।

प्रकाशित मितिः   १५ माघ २०८०, सोमबार ०५:०३