प्रदेशसभा अधिवेशन आह्वान गर्न माग
सुर्खेत: प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रदेशसभाको बैठक राख्न माग गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले लामो समयदेखि सभा स्थगित भएको भन्दै तत्काल अधिवेशन आह्वान गर्न माग गरेका हुन् ।
गत असोजदेखि प्रदेशसभाको बैठक स्थगित छ । त्यसयता अधिवेशन सुरु हुन सकेको छैन । हिउँदे अधिवेशन बोलाएर नियमित सभा सञ्चालन गर्न एमालेले सरकारलाई आग्रह गरेको हो । शुक्रवार बसेको एमाले संसदीय दलको बैठकले तत्काल कर्णाली प्रदेशसभा अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो ।
पत्रकार सम्मेलनमा नेता कँडेलले कर्णाली प्रदेश सरकार लक्ष्यविहीन भएको समेत बताए । योजना निर्माणमा व्याप्त अपारदर्शीता, भ्रष्टाचार र कमिसनतन्त्रको जालो चिर्नभन्दा थप मजबुत गर्नेमा सरकार लागिपरेको आरोप उनको छ । एक वर्षको अवधिमा सरकारको कार्य प्रगति न्यून र निराशाजनक हुनु र बेरुजु तथ्याङ्क बढ्नुले ती आरोपलाई पुष्टि गरेको एमालेको निष्कर्ष छ । व्यवहारमा निराशाजनक भएपनि प्रस्तुतिमा मात्रै सरकार उत्साहजनक देखिएको कँडेलले बताए । सरकारले अपेक्षित काम गर्न नसक्दा जनतामा निराशा पैदा भएको उनको तर्क थियो ।
संसदीय दलको बैठकले जाजरकोट भूकम्पपछि राहत, पुनस्र्थापना एवम् क्षतिपूर्तिका काममा प्रदेश सरकारको देखिने गरी भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ । साथै, २०८० असार १७ गते गरिएको सर्वदलीय सहमति र प्रदेशसभामा मुख्यमन्त्रीबाट व्यक्त प्रतिबद्धता तत्काल कार्यन्वयन गर्न पनि माग गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पारित गर्ने क्रममा सडक र भवनतर्फ ३० लाख भन्दा कम र अन्य निर्माण तर्फ १५ लाखभन्दा कम बजेट विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रकाशित मितिः १५ माघ २०८०, सोमबार ०५:०१
साझा बिसौनी ।