फुकोट–कर्णाली जलविद्युत आयोजना

निर्माण पूर्वका काम धमाधम

सुर्खेत: फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण पूर्वका काम धमाधम भइरहेका छन् । कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाटको आयोजना निर्माण पूर्वका विभिन्न चरणका काम भइरहेका हुन् ।

विद्युत उत्पादन कम्पनी र एनएचपीसी इन्डिया लिमिटेड कम्पनीको संयुक्त लगानीमा आयोजना निर्माण हुनेछ । आयोजना निर्माणका लागि पूर्वतयारी धमाधम अगाडि बढेको हो । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख डम्मर उप्रेतीले मुआब्जा वितरणको ९५ प्रतिशत काम सकिएको बताए । उनका अनुसार हालसम्म एक हजार तीन सय रोपनी जग्गा अधिग्रहण भइसकेको छ । जग्गा अधिग्रहणमा ५५ करोड रूपैयाँ खर्च भइसकेको र अब न्यून रकम वितरण गर्न बाँकी रहेको उनले बताए ।

२०७५ सालमा आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागले अनुमति दिएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सन् २०२२ मै डीपीआरको काम सकिएको थियो ।

चार सय ८० घर प्रभावित

जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट प्रभावित हुने चार सय ८० घरपरिवारलाई क्षतिपूर्ति वितरण प्रक्रिया सुरु भएको जनाइएको छ । कालीकोटको पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका गरी चार सय ८० घर आयोजनाबाट प्रभावित हुनेछन् । चार सय ८० घरपरिवारलाई १३ करोड ६५ लाख वितरण गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना प्रकाशित गरेर वितरण गर्नेछ । आयोजनाका अनुसार सान्नीत्रिवेणी गाउँपालिका वडा नं. १, २, ३, ४, पचाल झरना गाउँपालिका वडा नं. १, २, ८ ,९ र रास्कोट नगरपालिका वडा नं. ६, ७, ८ र ९ वडाका चार सय ८० घर प्रभावित हुनेछन् ।

 

विरुवा र फलफूलको लगत संकलन

आयोजनाबाट प्रभावित हुने स्थानमा फलफूल र रुख बिरुवाको क्षतिपूर्ति दिनका लागि लगत संकलनको काम भइरहेको छ । अहिले प्रभावित क्षेत्रमा पुगेर रुख बिरुवा र फलफूलको तथ्याङ्क संकलन भइरहेको आयोजना प्रमुख डम्मर उप्रेतीले जानकारी दिए । उनका अनुसार डिभिजन वन कार्यालय कालीकोट र कृषि विकास कार्यालय कालीकोटका कर्मचारीले लगत संकलनको काम गरिरहेका छन् । कार्यालयहरूले संकलन गरेको तथ्याङ्कको आधारमा क्षतिपूर्ति वितरण गरिने छ । उनले भने, ‘प्रभावित तीन वटा पालिकाका वडा–वडा, टोल–टोलमा पुगेर फलफूल र रुख बिरुवाको गणना भइरहेको छ । त्यसैका आधारमा क्षतिपूर्ति वितरण हुन्छ ।’

 

निर्माण पूर्वका काम धमाधम

अहिले आयोजना पूर्वका काम धमाधम भइरहेको जनाइएको छ । कार्यालय भवन र आवास भवन निर्माणको काम चलिरहेको छ । आयोजनाको क्याम्प क्षेत्रको कामसमेत भइरहेको छ । हाल रक मेकानिकल टेस्ट कार्य धमाधम भइरहेको आयोजना प्रमुख उप्रेतीले बताए । उनका अनुसार परिक्षण सुरुङ हेड्वोक्स र टेस्ट अडिट सुरुङपावर हावस निर्माणको काम भइरहेको छ । उनले भने, ‘निर्माण पूर्वका काम धमाधम भइरहेका छन् । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत हुनेवित्तिकै निर्माणको काम सुरु हुन्छ ।’

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुने चरणमा रहेको आयोजना प्रमुख उप्रेतीले जानकारी दिए । स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले फाइल अन्तिम चरणमा पु¥याएको छ । उनले भने, ‘आयोजनालाई मागेका सबै कागजपत्र दिएका छौँ । मन्त्रालयले अबको एक हप्तामा स्वीकृति प्रदान गर्ने जानकारी दिएको छ ।’

 

उत्पादन अनुमतिका लागि निवेदन पेस

आयोजनाको जेनेरेसन लाइसेन्स उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा निवेदन पेस गरिएको जनाइएको छ । गत साउनमा विभागमा निवेदन पेस गरिएको आयोजना प्रमुख उप्रेतीले जानकारी दिए । पाँच वर्ष निर्माणको समयावधि तोकिएको यो आयोजनाको समय गणना भने जेनेरेसन लाइसेन्स पाएको मितिबाट सुरु हुनेछ । उनले भने, ‘मन्त्रालयबाट इआइए स्वीकृत भएपछि अन्य काम अघि बढनेछन् । निर्माण पूर्वका काम धमाधम भइरहेका छन् ।’

 

९२ अर्ब लागत अनुमान

आयोजना निर्माणका लागि नेपाल र भारत सरकारको संयुक्त लगानी रहनेछ । नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनी र भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडको संयुक्त लगानी हुनेछ । एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ । आयोजनाको व्याजदरसहित ९२ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

विद्युत गृह सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ सेरी गाउँको दक्षिण पश्चिम भागमा निर्माण गरिनेछ । यस आयोजनाको लागि ८.४ मिटर व्यास र क्रमशः ५,८३१.६६ मिटर र ५५९७.२ मिटर लम्बाइका दुई वटा मुख्य (हेडरेस) सुरुङ मार्ग निर्माण गरिनेछ । यो आयोजनाको कूल हेड (ग्रस हेड) १६८.६२ मिटर हुनेछ ।

 

प्रकाशित मितिः   १४ माघ २०८०, आईतवार ०५:०५