पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ विमोचन

 

सुर्खेत: पत्रकार कलेन्द्र सेजुवालले ‘फल्स फ्रन्ट पेज’ पुस्तक ल्याएका छन् । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शनिवार काठमाडौंमा पुस्तकको विमोचन गरेका हुन् ।

महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका सेजुवालद्वारा लिखित पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो । पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी तीन खण्ड रहेका छन् । ‘आधारभूत सिद्धान्तमै खेलाँची’ शीर्षकको ‘सन्दर्भ’ खण्डमा नेपालको मात्र होइन, विश्वकै पत्रकारिताले बेलाबखत आफ्नो आधारभूत सिद्धान्तमा खेलवाड गर्ने गरेको उल्लेख छ । अन्तर्राष्ट्रिय पत्रकारिताका चर्चित कमजोरी यस खण्डमा रहेका छन् । यसका साथै नेपालको पत्रकारितालाई ऐतिहासिक कालखण्डमा पक्षधरता र पूर्वाग्रहले कसरी गाँजेको थियो भन्नेबारे लेखिएको छ । अनि प्रमुख अखबारका मुख–पृष्ठ (फ्रन्ट पेज) मा प्रकाशित गलत समाचारका केही दृष्टान्त पनि उल्लेख गरिएका छन् ।

‘देशको सीमांकन बदल्ने आन्दोलन’ शीर्षकको ‘उपकथा’ खण्डमा २०७२ साउन २२ देखि भदौ ४ (१५ दिन) सम्म सुर्खेतलाई केन्द्र बनाएर चलेको सीमांकन आन्दोलनले देशको प्रस्तावित ६ प्रदेशको सीमांकनलाई बदलेर ७ प्रदेश बनाएको उल्लेख छ । आन्दोलनको उठान, त्यसको प्रभाव र परिणामबारे यस खण्डमा लेखिएको छ ।

पुस्तकको ‘मूलकथा’ खण्डमा (सीमांकन) ‘आन्दोलनको कसीमा मिडिया’ लाई राखिएको छ । सीमांकन आन्दोलनमा खास गरी सुर्खेती मिडियाको भूमिका कस्तो रह्यो भन्नेबारे यस खण्डमा विश्लेषणात्मक रूपमा उल्लेख गरिएको छ ।

पुस्तक विमोचन गर्दै उपप्रधानमन्त्री खड्काले पत्रकारिता सही मार्गमा हिँडेको खण्डमा मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने बताए । ‘हरेक क्षेत्रजस्तै पत्रकारिता क्षेत्रका पनि आफ्नै मूल्य–मान्यता, सिद्धान्त र आदर्श रहिआएका छन्, जसलाई सही रूपमा व्यवहारमा कार्यान्वयन गर्नु पर्दछ,’ उनले भने, ‘तर बेलाबखत अपवादका रूपमा पत्रकारितामा केही कमजोरी र त्रुटीहरू देखिने गर्दछन् । जो हामी सबैले देख्दै, भोग्दै र महसुस गर्दै आएका छौँ ।’ उनले सञ्चार क्षेत्रले सत्य–तथ्य, सन्तुलित र विश्वनीय समाचार प्रदान गर्ने आफ्नो मूलधर्मबाट बिचलित हुन नहुने बताए । उपप्रधानमन्त्री खड्काले पत्रकारिता क्षेत्रमा देखिएका विकृति बिसंगतिलाई निर्मूल पार्दै स्वच्छ, सशक्त र विश्वनीय आधार निर्माणमा आफ्ना गतिविधिलाई केन्द्रित गर्नु अहिलेको आवश्यकता भएको बताए ।

प्रकाशित पुस्तकको सन्दर्भमा बोल्दै उपप्रधानमन्त्री खड्काले २०७२ साउन अन्तिम साता प्रदेशको सीमांकन हुँदा प्रमुख राजनीतिक दलहरूबीच सुर्खेतलाई राजधानी बनाउने विषयमा कुनै विवाद नरहेको बताए । ‘म त्यतिबेला सीमांकनसम्बन्धी हुने गरेका ९९ दसमलब ९९ प्रतिशत बैठकमा सहभागी छु, सुर्खेतलाई राजधानी बन्नु हुँदैन भन्नेमा कोही पनि थिएनन्,’ उनले भने, ‘तैपनि आन्दोलन भयो, ठूलो क्षति भयो ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विषयमा सञ्चारकर्मीले नै आलोचनात्मक पुस्तक प्रकाशित गर्नु राम्रो पक्ष भएको बताए । ‘फल्स फ्रन्ट पेज’ सुर्खेत आन्दोलन र त्यहाँका सञ्चार माध्यमको भूमिमा केन्द्रित भएपनि पुस्तकले समग्र नेपाली पत्रकारितामा भएका त्रुटीहरू औंल्याएको बताए ।

वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार सेजुवालले रिपोर्टिङमा जस्तै पुस्तकमा पनि आफ्नो खोजपूर्ण कौशल देखाएको बताए । महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले पुस्तक ‘तथ्य–कथा’ रहेको बताए । ‘सुर्खेत आन्दोलनमा मिडिया र राजनीतिका कुरादेखि नेपाली मिडियामा भएका सञ्चारमाध्यमका कमजोरीहरू उल्लेख भएका छन्,’ उनले भने । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय खोज पत्रकारिता संकटमा परेको बताउँदै पत्रकारले खोज तथा अनुसन्धान कार्य गर्नु सकारात्मक भएको बताए ।

प्रकाशित मितिः   १४ माघ २०८०, आईतवार ०५:०४