कृषिमा आकर्षित कृषक

कर्णाली प्रदेश सरकारले किसानलाई आत्मनिर्भर बनाउन व्यावसायिक आलुको बीऊ उत्पादन कार्यक्रम लागू गरेको छ । कार्यक्रममार्फत् समूह सहकारीलाई विभिन्न अनुदानका कार्यक्रम दिने गरिएको छ । कृषि विकास निर्देशनालय सुर्खेतले कृषि समूह वा सहकारीमार्फत् कार्यक्रम कार्यान्वयन गरिरहेको छ । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडले व्यावसायिक रूपमा आलुको बीऊ उत्पादन थालेको छ । निर्देशनालयको आर्थिक सहयोगमा २०७३ सालबाट कृषकहरूले बीऊ उत्पादन गरिरहेका छन् । त्यतिबेला ४२ जना कृषकको ९२ रोपनी जग्गामा आलुको बीऊ उत्पादन गरिएको थियो । बर्सेनि क्षेत्र विस्तार गरेर बीऊ उत्पादन गर्ने गरिएको निर्देशनालयले जनाएको छ ।

हाल एक सयभन्दा बढी कृषकले आलुको बीऊ उत्पादन गरिरहेका छन् । कृषकलाई सहकारीको ५० प्रतिशत र कृषि विकास निर्देशनालय सुर्खेतको ५० प्रतिशत अनुदान दिने गरिएको छ । केही कृषक अनुदानमा समेटिएको भएपनि केही कृषकले आफ्नै लगानीमा आलुको बीऊ उत्पादन गरिरहेका छन् । नगरपालिकाको वडा नं. ५, १० र १२ का कृषकहरूले बीऊ उत्पादनका लागि व्यावसायिक रूपका लागेका छन् । प्रत्येक वर्ष क्षेत्र विस्तार गरेर बीऊ उत्पादन भइरहेको छ । ९२ रोपनीबाट सुरु गरिएको आलुको बीऊ उत्पादन अहिले दुई सय रोपनीमा फैलिएको छ । चिस्यान केन्द्रमा भण्डारण गरेर बीऊ बिक्री गर्ने गरिएको छ । यो वर्ष निर्देशनालयले सहकारीलाई एक सय ४५ क्वीन्टल आलुको बीऊ उपलब्ध गराएको छ । यसैगरी मूल बीऊ दुई हजार दाना दिएको छ । कृषकले उत्पादन गरेको बीऊ सहकारीले खरिद गरेर बजारीकरण गर्ने गरेको छ । उत्पादित बीऊ भेरीगंगाका साथसाथै वीरेन्द्रनगरदेखि नेपालगञ्जसम्म खपत हुने गरेको छ ।

कृषि विकास निर्देशनालय सुर्खेतले आलुको बीऊ विस्तार कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षमा दुई पालिकामा क्षेत्र विस्तार गरिएको जनाइएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा यो वर्षदेखि आलु प्रवद्र्धन कार्यक्रम सुरु गरिएको छ । वडा नं. १ को तेलपानीमा दुई हेक्टर क्षेत्रफलमा आलुको बीऊ उत्पादनाका लागि क्षेत्र विस्तार गरिएको हो । यसैगरी सिम्ता गाउँपालिकाको वडा नं. ८ डाँडाखालीमा समेत क्षेत्र विस्तार गरिएको छ । करिब तीन हेक्टर क्षेत्रफलमा आलु प्रवद्र्धन कार्यक्रम सुरु गरिएको हो । यस्तै जिल्ला कृषि विकास कार्यालय दैलेखले तीन वटा स्थानीय तहमा आलु प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । जिल्लाको नारायण तथा चामुन्डाबिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकामा आलु प्रवद्र्धन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम कार्यान्वयनका लागि २० लाख बजेट विनियोजन गरिएको छ । यसरी अनुदानसहितको कार्यक्रमले कृषकलाई कृषिमा थप आकर्षित गरेको छ ।

प्रकाशित मितिः   १४ माघ २०८०, आईतवार ०५:०३