पुल निर्माणमा ढिलासुस्ती

गुर्भाकोट नगरपालिकाको गोचे खोलामा बन्न लागेको पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । दुई वटा वडाका नागरिकलाई आउजाउ सहज बनाउन गोचे खोलामा ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको हो । नगरपालिकाको वडा नं. ४ र ५ को सिमाना गोचेखोलामा २०७४ भदौ २३ देखि निर्माण कार्य सुरु गरिएको थियो । २०७६ वैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी एडभेन्च.जेबी.जेभी बाँकेसँग ठेक्का सम्झौता भएको छ । चार करोड ३० लाख ९७ हजारमा ठेक्का सम्झौता गरिएको हो । विभिन्न कारण देखाउँदै ठेकेदारले पटक–पटक म्याद थप गरेपनि काम अधुरै छ ।

पुल निर्माणका लागि तीन पटक म्याद थप भएको छ । अन्तिम पटक २०८१ वैशाखसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । तर गत असारदेखि पुल निर्माणको काम ठप्प छ । पटक–पटक काममा फर्कन निर्माण कम्पनीलाई ताकेता गर्दा समेत ठेकेदारले अटेरी गरेको छ । अन्तिम पटक म्याद थपिएको अवधिमा निर्माण कार्य सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी समेत कार्यालयले दिएको छ । पुल निर्माणको आधा काम सकिएको भएपनि सुपर स्टक्चरको मात्र काम बाँकी रहेको छ । हालसम्म पुल निर्माणको ५२ प्रतिशत मात्र काम सम्पन्न भएको जनाइएको छ । ४८ प्रतिशत काम बाँकी छ । ६ वर्षसम्म पुलको पिलर र दुई वटा स्ल्याब मात्र हाल्ने काम भएको छ । विभिन्न प्राविधिक समस्या देखाउँदै प्रत्येक वर्ष पुल निर्माणको सम्झौता बढाइएपनि काम भने सोचेअनुसार हुन सकेको छैन । पुल नबनेपछि गुर्भाकोट नगरपालिका वडा नं. ४ र ५ का स्थानीयलाई सास्ती भएको छ । उक्त स्थानमा खोलाको बगरबाट सवारी आवागमन गर्नुपर्ने बाध्यता छ । वर्षामा खोला तर्न कष्टकर हुने गरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय सरकार र स्थानीयबासीले पटकपटक निर्माण छिटो गर्नका लागि ताकेता गरेको भएपनि ठेकेदार कम्पनीले कुनै वास्ता गरेको छैन ।

एकातर्फ पक्की पुल अलपत्र परेको छ भने सोही स्थानमा रहेको झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ । त्यहाँका स्थानीले वर्षाैदेखि झोलुङ्गे पुलबाट आवतजावत गरिरहेका छन् । पूर्वाधार निर्माणमा हुने ढिलाइ नौलो रहेन । तर यसरी पटक–पटक म्याद थप गरेर पनि एउटा पुल निर्माण नहुनु ठेकेदार कम्पनीका साथसाथै सम्बन्धित सरकारी निकायको पनि कमजोर हुनजान्छ । समयमै काम सम्पन्न गराउनेतर्फ सरकारी निकायहरूबाट पनि पहल र तदारुकता अपरिहार्य हुन्छ ।

प्रकाशित मितिः   ११ माघ २०८०, बिहीबार ०५:०३