सिँचाइ योजना कार्यान्वयनमा जोड

सुर्खेत: प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्लो एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । मन्त्री भिमप्रकाश शर्माले बुधवार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् ।

३२ बुँदे उपलब्धिमा फलफूलका विरुवाहरू वितरणदेखि सिँचाइ आयोजनाहरूको सम्झौतासम्मका विवरण उल्लेख गरिएको छ । मन्त्री शर्माले साना सिँचाइ तथा मर्मत सम्भारतर्फ सात सय ८८ योजना निर्माण सम्पन्न भएर एक हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुधार तथा एक सय १५ हेक्टरमा सिँचाइ सुविधा थप भएको जनाए । उक्त योजना कार्यान्वयनका क्रममा १५ हजार दुई सय २० जनालाई दुई महिना बराबरको अस्थायी रोजगारी सिर्जना हुनु पनि सरकारको उपलब्धि भएको दाबी उनले गरेका छन् ।

यस्तै बाढी पहिरोका कारण क्षति भएका दुई सय १३ वटा सिँचाइ संरचनाको मर्मत सम्भार तथा पुनःनिर्माण भएको, चालु आर्थिक वर्षमा साना सिँचाइ तथा मर्मत सम्भारतर्फ ६ सय २८ वटा योजनामध्ये पाँच सय पाँच वटाको सम्झौता भइ कार्यान्वयनको चरणमा रहेको उल्लेख गरिएको छ । हिँउदे फलफुल क्षेत्र विस्तारका लागि स्याउ, ओखर, ड्रागनफललगायत गरी ८५ हजार सात सय ३६ विरुवा वितरण गरिएको जनाइएको छ । मन्त्री शर्माकाअनुसार उक्त कार्यबाट तीन सय पाँच घरघुरी लाभान्वित भएका छन् ।

त्यसैगरी ब्याज अनुदान कार्यक्रममार्फत् चार करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पुँजी कृषि क्षेत्रमा परिचालन भएको बताउँदै शर्माले त्यसबाट एक हजार तीन सय ५७ जना कृषक प्रत्यक्ष सहभागी भएको बताए । उक्त कार्यबाट आठ सय ५० जना पूर्ण स्वरोजगार र तीन हजार पाँच सय ७० जनालाई तीन महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको छ ।

दुग्ध प्रवद्र्धन कार्यक्रममार्फत् दुध उत्पादन गर्ने कृषकलाई पहाडी जिल्लामा प्रतिलिटर पाँच रूपैयाँ र हिमाली जिल्लामा प्रतिलिटर १० रूपैयाँको दरले एक करोड २७ लाख ४८ हजार रूपैयाँ प्रोत्साहनबाट २३ लाख ९२ हजार नौ सय ८८ लिटर दुध संगठित बजारमा पु¥याउँदा तीन हजार ५३ जनालाई पाँच महिना र चार सय १२ जनालाई पूर्ण रोजगारी सिर्जना भएको, पशु खोप कार्यक्रमतर्फ १५ लाख ७३ हजार चार सय ६७ पशुपन्छीलाई प्रमुख संक्रामक रोग विरुद्धको खोप लगाइएको समेत जानकारी दिइएको छ ।

प्रकाशित मितिः   ११ माघ २०८०, बिहीबार १२:१७