दरबन्दी बढाउन नयाँ ओएनएम
सुर्खेत: कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पु¥याएको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी संख्यामा वृद्धि हुनेछ ।
अहिले कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । त्यसलाई बढाएर तीन हजार तीन सय पु¥याउन लागिएको हो । कर्मचारीको दरबन्दी हेरफेर र थप गर्ने उद्देश्यले प्रदेशका सबै मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयहरूको कर्मचारी दरबन्दी संगठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने काम भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार ओएनएम कार्यान्वयनका लागि प्रदेश निजामति सेवा नियमावली पनि तयार गरेर मन्त्रिपरिषद्मा पेस गरिएको छ ।
प्रदेश सरकारका मुख्य सचिव चुडामणि पौडेलले आठ वटा मन्त्रालयबाट दरबन्दीको नयाँ प्रस्ताव पेस भएको जानकारी दिए । सोहीअनुसार ओएनएम गरिएको हो । ‘अहिले पनि प्रदेश अस्पताल र जिल्ला अस्पतालहरूमा कर्मचारीको अभाव छ । ती कार्यालयमा अब ओएनएम सर्भेबाट नयाँ दरबन्दी कायम गरी कर्मचारीलाई पठाइने छ । बढी कर्मचारी भएका कार्यालयबाट कर्मचारीलाई झिकेर कर्मचारी कम भएका कार्यालयमा पठाउन प्रदेश सरकारले ओएनएम गर्न लागेको हो ।’
सरकारले आफू मातहतका कार्यालयहरू एकीकृत गर्ने तयारी गरिरहेको छ । छरपष्ट रूपमा रहेका तालिम केन्द्रलाई समेत कर्णाली प्रदेश तालिम प्रतिष्ठान ऐनमार्फत् एकै स्थानबाट सञ्चालन गर्न लागिएको छ । प्रदेश सरकारको स्थायी संरचनामा दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका कार्यालयहरू हटाइने छ । उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका जिल्लाका कार्यालयहरूलाई एकअर्कामा गाभिने गरी नयाँ दरबन्दी सिर्जना गर्न लागिएको हो ।
कर्णालीको स्वास्थ्य क्षेत्रको दरबन्दीको ठूलो अभाव छ । रिक्त पदपूर्ति गर्नका लागि दरबन्दी थप गरिएको छ । सरकारी सेवाको नियामक निकाय र सार्वजनिक संस्थानमा चालु आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने, सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने मन्त्रालयले जनाइएको छ । ओएनएमलाई अन्तिम चरणमा पु¥याएको भन्दै मुख्य सचिव पौडेलले मन्त्रालयले तयार गरेको ओएनएम मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउने जानकारी दिए । उनले भने, ‘यहि महिनामा काम सक्नेगरी लागि परेका छौँ ।’
उनले प्रशासनिक असन्तुलनलाई सन्तुलन बनाउने गरी ओएनएम सर्वेक्षण गर्न लागिएको भन्दै मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल भइरहेको जानकारी दिए । ‘अहिले कतिपय मन्त्रालयमा कुनै पदका कर्मचारी अत्यावश्यक भएको तर कुनै पदका कर्मचारी अनावश्यक छन्’ प्रमुख सचिव पौडेलले भने, ‘मन्त्रालयले तयार गर्न लागेको ओएनएम सर्वेक्षणले प्रशासनिक चुस्तता कायम गर्न थप सहयोग पुग्ने छ ।’
प्रदेश कर्मचारीलाई संकेत नम्वर प्रदान
यसैबीच प्रदेशका कर्मचारीलाई वैयक्तिक विवरण संकेत (सिटरोल) प्रदान गरिएको छ । बुधवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख सचिव पौडेलले कर्णाली प्रदेश लोकसेवा आयोगबाट सिफारिस पाँच जना प्रदेश निजामती कर्मचारीहरूको वैयक्तिक विवरण फाराम (सिटरोल) संकेत प्रदान गरेका छन् ।
निजामती कर्मचारीको वैयक्तिक विवरणको अध्यावधिक कार्य मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख शाखाबाट हुनेछ । उनका अनुसार पहिलो पटक तीन सय २६ जना प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण प्रमाणित भइ सिटरोल नम्बर सहितको फाराम प्रदान गरिएको हो । स्थानीय कर्मचारीको हकमा निजामती किताब खानासँग कर्मचारी विवरण अनलाइनमा अध्यावधिक गर्न राष्ट्रिय किताब खाना (निजामती) लाई अनुरोध गरिएको छ । स्वीकृति प्राप्त भएपछि स्थानीय तहका आठ सय ६४ जना कर्मचारीको वैयक्तिक विवरण अनलाईनमा अभिलेख गरी सिटरोल प्रदान गरिने छ ।
कर्णाली प्रदेश निजामती कर्मचारी संघ, स्थानीय र प्रदेशमा जहाँ सरुवा बढुवा भएपनि फरक नपर्ने गरी सिटरोल व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रशासन महाशाखाका सचिव विस्णुप्रसाद कोइरालाले बताए । उनका अनुसार कर्मचारी तिनै तहमा जहाँ सरुवा वा बढुवा रहेर काम गर्दा पनि सिटरोल एउटै रहने छ । जसले सरुवा, बढुवा, पेन्सनलगायत कार्यमा एकरूपता कायम हुने जनाइएको छ ।
सात प्रदेशमध्ये कर्मचारी संकेत प्रदान गर्नेमा कर्णाली प्रदेश दोस्रो भएको उनले जानकारी दिएका छन् । संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहले आफूलाई आवश्यक विभिन्न सेवाका कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा प्रदेश सरकारले गर्ने सक्ने व्यवस्था अनुसार कर्मचारीको खटपटनको अभिलेख राखिएको जनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुले प्रदेशका कर्मचारीको क्षमता विकास र परिचालनमा सिटरोल प्रदान गरेसँगै सहज भएको बताए । अभिलेख मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेबसाइटमा समेत राखिएको छ ।
प्रकाशित मितिः ११ माघ २०८०, बिहीबार १२:३४
रजनी याेगी ।