पुल निर्माण योजना अलपत्र

ठेकेदारको लापरबाही, तीन पटक म्याद थप

सुर्खेत: गुर्भाकोट नगरपालिकाको गोचे खोलामा बन्न लागेको पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।

दुई वटा वडाका नागरिकलाई आउजाउ सहज बनाउन गोचे खोलामा ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको हो । नगरपालिकाको वडा नं. ४ र ५ को सिमाना गोचेखोलामा २०७४ भदौ २३ देखि निर्माण कार्य सुरु गरिएको थियो । २०७६ वैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी एडभेन्च.जेबी.जेभी बाँकेसँग ठेक्का सम्झौता भएको छ । चार करोड ३० लाख ९७ हजारमा ठेक्का सम्झौता गरिएको हो । विभिन्न कारण देखाउँदै ठेकेदारले पटक–पटक म्याद थप गरेपनि काम अधुरै छ ।

पुल निर्माणका लागि तीन पटक म्याद थप भएको छ । अन्तिम पटक २०८१ वैशाखसम्मका लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । ठेकेदारको लापरबाहीका कारण काममा ढिलाइ भइरहेको कार्यालयका सूचना अधिकारी टोपनारायण पौडेलले बताए । उनका अनुसार गत असारदेखि पुल निर्माणको काम ठप्प छ । पटक–पटक काममा फर्कन निर्माण कम्पनीलाई ताकेता गर्दा समेत ठेकेदारले अटेरी गरेको उनको भनाइ छ । अन्तिम पटक म्याद थपिएको अवधिमा निर्माण कार्य सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी समेत कार्यालयले दिएको छ । पौडेलले भने, ‘गत असारदेखि काम भएको छैन । अझैपनि काम सुरुगरे तोकिएकै मितिमा निर्माण सम्पन्न गर्न सकिन्छ । निर्माण कम्पनीलाई कार्यालयले पटक–पटक ताकेता गरेको छ ।’ पुल निर्माणको आधा काम सकिएको भन्दै उनले सुपर स्टक्चरको मात्र काम बाँकी रहेको बताएका छन् ।

 

५२ प्रतिशत काम सम्पन्न

पुल निर्माण थालिएको ६ वर्ष बितिसक्दा काम अधुरै छ । हालसम्म पुल निर्माणको ५२ प्रतिशत मात्र काम सम्पन्न भएको जनाइएको छ । ४८ प्रतिशत काम बाँकी छ । अहिले पुल निर्माणको काम ठप्प रहेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । ६ वर्षसम्म पुलको पिलर र दुई वटा स्ल्याब मात्र हाल्ने काम भएको छ । सुपर स्टक्चरको काम बाँकी नै रहेको कार्यालयका सूचना अधिकारी पौडेल बताउँछन् । विभिन्न प्राविधिक समस्या देखाउँदै प्रत्येक वर्ष पुल निर्माणको सम्झौता बढाइएपनि काम भने सोचेअनुसार हुन नसकेको उनले बताए ।

 

स्थानीयलाई सास्ती

पुल नबनेपछि गुर्भाकोट नगरपालिका वडा नं. ४ र ५ का स्थानीयलाई सास्ती भएको छ । उक्त स्थानमा खोलाको बगरबाट सवारी आवागमन गर्नुपर्ने बाध्यता छ । वर्षामा खोला तर्न कष्टकर हुने गरेको स्थानीयले गुनासो गरेका छन् । वडा नं. ५ का तुल्सी पौडेलले जिम्मेवार निकाय र ठेकेदारको लापरबाहीले आफूहरूलाई सास्ती भइरहेको बताए । पुल निर्माण नहुँदा आवतजावतमा समस्या भएको र महँगोमा सामान ढुवानी गर्नुपरेको उनको गुनासो छ । समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही हुनुपर्ने उनले बताए । ‘ठेकेदारको लापरबाहीले पुल निर्माण पूरा नभएको हो । पुल बनाउन आलटाल गर्ने ठेकेदारलाई सरकारले कारबाही गर्नुपर्छ,’ पौडेलले भने, ‘पुल निर्माण थाल्दा खुसी भएका स्थानीय अलपत्र परेपछि निराश छन् ।’

स्थानीय सरकार र स्थानीयबासीले पटकपटक निर्माण छिटो गर्नका लागि ताकेता गरेको भएपनि ठेकेदार कम्पनीले कुनै वास्ता गरेको छैन । पक्की पुलको निर्माण कार्य अलपत्र हुँदा नागरिकले सास्ती भोग्नुपरेको नगरप्रमुख हस्त पुनले बताए । निर्माण कम्पनी र सम्बन्धित निकायालाई काम अघि बढाउन पटक–पटक आग्रह गरिएको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ । सडक डिभिजन कार्यालय सुर्खेतलाई काम नगर्ने ठेकेदारको ठेक्का तोड्न र नयाँ ठेक्कामार्फत् काम सुरु गर्न भनिएको उनले जनाए । उनले भने, ‘यहाँका स्थानीयलाई पुल नबन्दा निकै समस्या छ । काम अघि बढाउन पटक–पटक समन्वय गर्दा पनि ठेकेदारले अटेरी गरिरहेको छ । अब ठेक्का तोड्नुपर्छ भन्ने हाम्रो माग छ ।’ एकातर्फ पक्की पुल अलपत्र परेको छ भने सोही स्थानमा रहेको झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ । त्यहाँका स्थानीले वर्षाैदेखि झोलुङ्गे पुलबाट आवतजावत गरिरहेका छन् ।

प्रकाशित मितिः   १० माघ २०८०, बुधबार ०५:०५