कृषिमा रूपान्तरणको कडी
कृषिमा पर्याप्त सम्भावना बोकेको प्रदेश हो, कर्णाली । यहाँको भौगोलिक विविधताअनुसार कृषि उपजको उत्पादनमा पनि विविधता पाइन्छ । भित्रि मधेसदेखि पहाडी भेग हुँदै उच्च हिमाली क्षेत्रसमेत छ । त्यसैले तरकारीदेखि फलफूललगायतका कृषि उपज उत्पादनका दृष्टिले कर्णालीलाई सम्भावनायुक्त मानिन्छ । तर यहाँको कृषि अपेक्षित रूपमा व्यावसायिक हुन सकेको छैन । उत्पादित वस्तुहरूको उचित भण्डारण र बजारीकरण हुन सकेको छैन । यद्यपि, पछिल्लो समय कर्णाली प्रदेश सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणमा जोड दिएको छ । सोहीबमोजिम ठाउँ–ठाउँमा चिस्यान केन्द्र बनिरहेका छन् । यसले उत्पादित बस्तुहरूको भण्डारणको समस्या समाधान हुनेछ ।
वीरेन्द्रनगरमा बनिरहेको चिस्यान केन्द्र निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्डस्टोर निर्माण गरिएको हो । कृषि विकास निर्देशनालय सुर्खेतको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ लाटीकोइलीमा चिस्यान केन्द्र निर्माण थालिएको हो । निर्देशनालयको ७० प्रतिशत र साना किसान कृषि सहकारी संस्था लिमिटेडको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । ९८ प्रतिशत काम सम्पन्न भएको छ । दुई सय मेट्रिक टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । पाँच सय मेट्रिक टन भार क्षमताको विस्तार गरेर प्रदेशस्तरीय बनाउने लक्ष्य राखिएको भएपनि हाल दुई सयबाट सुरुवात गर्ने जनाइएको छ । आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण थालिएको थियो । करिब चार वर्ष लगाएर चिस्यान केन्द्र सञ्चालनको तयारी थालिएको छ । कृषि विकास निर्देशनालयको दुई करोड, साना किसान कृषि सहकारी संस्थाको डेढ करोड लागतमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । अबको एक महिनामा चिस्यान केन्द्र सञ्चालनमा आउनेछ । फलफूल, तरकारी शित भण्डारण गर्नका लागि छुट्टाछुट्टै स्थान तयार पारिएको छ । चिस्यान केन्द्र निर्माण भएपछि आलुको बीउ, फलफूल भण्डारणका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
वीरेन्द्रनगरमा मात्रै होइन, प्रदेशका विभिन्न ठाउँमा चिस्यान केन्द्र बन्दैछ । किसानले उत्पादन गरेका दुग्धजन्य, बीउविजन, तरकारी, फलफूलका साथै जडिबुटीलाई समेत चिस्यान केन्द्रमा भण्डारण गर्न सकिन्छ । चिस्यान केन्द्रले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भइ प्रतिफल वृद्धि हुने अवस्था सिर्जना हुन्छ । त्यसैले कृषि क्षेत्रको रूपान्तरणको एउटा महत्वपूर्ण कडीका रूपमा चिस्यान केन्द्रलाई लिने गरिन्छ । कृषिलाई व्यवसायिकरण गरी किसानलाई आम्दानीमुखी बनाउन सबै जिल्लाहरूमा चिस्यान केन्द्र जरुरी छ ।
प्रकाशित मितिः ८ माघ २०८०, सोमबार ०५:०३
सम्पादकीय ।