अध्यक्ष सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी
सुर्खेत: नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत सुर्खेतबाट सिंहसहित ६ जनाविरूद्ध पुर्जी जारी भएको हो । १५ वर्षअघि भएको हत्या घटनामा उनीहरूको संलग्नता रहेको आरोप छ ।
२०६५ फागुन २६ गते साँझ कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको सुर्खेतमा हत्या भएको थियो । हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो । तर उनीहरू अहिलेसम्म पक्राउ पर्न सकेका थिएनन् । किटानी दर्ता भएका ६ जनाविरूद्ध गत शुक्रवार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जनाइएको छ ।
सिंहसहित टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूको खोजी गरिरहेको छ ।
पञ्चा सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन् । केही दिन अघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्चालमार्फत् यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन् । ‘१५ वर्ष अगाडि घटना कसरी घट्यो, किन घट्यो, कसको कारणले घट्यो भन्ने बारेमा न्यायिक र सत्य तथ्य छानबिन होस् । यसमा मेरो सहयोग रहनेछ । स्थानीय राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा दर्ता गरिएको विषय यो घटनाको सत्यता उजागर भएसँगै सार्वजनिक हुने नै छ,’ उनले भनेकी थिइन्, ‘राजनीतिक जीवन सुरू भएसँगै हरेक चरण षड्यन्त्रपूर्ण रूपमा कथाहरू तयार गर्ने र आरोपित गर्ने दुष्प्रयास नभएका होइनन् । यो घटना आरोपहरूको उत्कर्षको रूपमा रहेको बुझेको छु र यही अनुरूप सामना गर्न पनि तयार रहेको जानकारी गराउँछु ।’
प्रकाशित मितिः ८ माघ २०८०, सोमबार ०५:०१
साझा बिसौनी ।